रियो ओलम्पिकको भव्य उद्घाटन, नेपाली खेलाडीले कोसँग प्रतिस्पर्धा गर्दैछन् ?


Rio

ब्राजिलमा सुरु भएको रियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले पहिलो चरणमा क्युवाकी मरिसेट इस्पिनोसासँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।

बिहीबार निकालिएको ड्र अनुसार फुपुले कठिन प्रतिद्वन्द्वी मरिसेट इस्पिनोसासँग आगामी मंगलबार प्रतिस्पर्धा गर्ने छिन् ।

१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी फुपुले ६३ केजी मुनीको स्पर्धामा प्रतिष्पर्धा गर्दै छिन् ।

उता, नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले नक आउट चरणमा मंगलबार भारतका खेलाडी अतनु दाससँग खेल्ने भएका छन् ।

शुक्रबार भएको पहिलो चरणमा कुल ६ सय ७ स्कोर गरेका जितबहादुर ६४ खेलाडी मध्य ६० औं स्थानमा छन् भने भारतीय अतनु दास ६ सय ८३ स्कोर गर्दै पाँचौ स्थानमा छन् ।

नेपालले ओलम्पिकमा आर्चरीमा प्रतिस्पर्धा गरेको यो पहिलो पटक हो । ब्राजिलको रियो दि जेनेरियोमा ओलम्पिकको नयाँ संस्करणको शनिबार बिहान औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन समाहारो अन्तर्गत मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै जुडोकी फुपु ल्हामु खत्रीले नेपालको झण्डा बोकेकी थिइन् । नेपालका सात खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा २ सय ६ देश र एक शरणार्थी टिमका ११ हजार भन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्दै छन् । पौडीकी १३ बर्षिया नेपाली खेलाडी गौरिका सिंह प्रतियोगितामा सबै भन्दा कम उमेरकी खेलाडी बनेकी छन् ।

सन् १९६४ मा जापानमा आयोजित ओलम्पिकमा पहिलो पटक सहभागी भएको नेपालले त्यसयताका संस्करणमा निरन्तर सहभागिता जनाइ रहेको भए पनि अहिलेसम्म नेपालको यात्रा सहभागीतामै सिमित बनेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?