अमेरिकाको रिपब्लिकन पार्टीका ५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुबाट राष्ट्रपतिका उम्मेदवार ट्रम्पमाथि कडा आरोप


Trumpअमेरिकी रिपब्लिकन पार्टीका ५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको आरोप लगाएका छन् ।

सुरक्षा विशेषज्ञहरुले हस्ताक्षरसहितको खुला पत्र सार्वजनिक गर्दै राष्ट्रपतिका उम्मेदवार ट्रम्प चुनावमा विजयी भए अहिलेसम्मकै सबैभन्दा लापरबाह राष्ट्रपति सावित हुने दाबी गरेका छन् । यो समूहमा सीआईएका पूर्व निर्देशक माइकल हेडनसमेत सहभागी छन् । पत्रमा डोनाल्ड ट्रम्पका लागि आफूहरुले मतदान नगर्ने उल्लेख छ ।

यसअघि पनि केही वरिष्ठ रिपब्लिकन नेताहरुले ट्रप्रति असहमति जनाइसकेका छन् । सुरक्षा विशेषज्ञहरुले स्वतन्त्र विश्वका नेतृत्व गर्ने नैतिक अधिकारलाई ट्रम्पले कमजोर सावित गर्ने दाबीसमेत गरेका छन् । उनीहरुले अमेरिकी संविधान, कानुन र संस्थाका बारेमा सामान्य जानकारीसमेत ट्रम्पसँग नभएको जिकीर गरेका छन् ।

पत्रमा हस्ताक्षर गर्नेहरुमा अमेरिकाको राष्ट्रिय जाँच एजेन्सीका पहिलो निर्देशक जोन नेगरोपोटे, पूर्व उपविदेशमन्त्रीसमेत रहेका विश्व बैंकका पूर्व अध्यक्ष रोबर्ट बी जोलिएकसमेत छन् । आन्तरिक सुरक्षाका दुई पूर्वसचिव टोम रिज र माइकल शेरटाफले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपतिका लागि ट्रम्पले डेमोक्र्याट्रिक उम्मेदवार हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गर्दछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?