इरोम शर्मिलाले तोडिन् १६ वर्षपछि आमरण अनसन
भारत मणिपुरकी चानू इरोम शर्मिलाले १६ वर्षको आमरण अनसन मंगलबार तोडेकी छन् । सैन्यबल कानुन अन्त्यको माग गर्दै उनले सन् २००० देखि आमरण अनशन सुरु गरेकी थिइन् ।
४४ वर्षीया शर्मिलाले ‘लौह महिला’को उपमा पाएकी छन् । स्थानीय अदालतमा पुगेर आमरण अनशन तोडेकी हुन् ।
अनसन तोड्दै उनले आफू राजनीति गरेर निर्वाचन जितेर मणिपुर राज्यको मुख्यमन्त्री भएरै सुरक्षाकर्मीले प्राप्त अधिकार हटाउने घोषणा गरेकी छन् ।
इरोमलाई अहिलेसम्म जवाहरलाल नेहेरु स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीको निगरानीमा राखिँदै नाकबाट छिराइएको पाइप (नासल ट्युब)बाट उनको अनुमति वेगर खुवाउँदै आइएको थियो ।
इरोमले अनशन तोडेर राजनीति गर्ने बताएसँगै उनको कैदी जीवनजदेखी राजनीतिसम्मको संघर्षलाई आङसाङ सुकी र नेल्सन मन्डेलासँग तुलना गर्न थालिएको छ ।
उनले बेलायती उपनिवेशवाद विरुद्ध भएको ‘भारत छोड’ अन्दोलनको ७० वर्ष गाँठका दिन अनशन तोडेकी हुन् ।
इरोमले सन् २०००, नोभेम्बरका दिन मणिपुरको इम्पाल बाहिर पर्ने सानो गाउँ मालोममा भएको हत्याकाण्डपछि सुरु गरेकी थिइन् । जहाँ सरकारी अर्धसैनिक बल– आसाम राइफल्सका सुरक्षाकर्मीले १० जना मानिसलाई मारेका थिए ।