सिरियाको एलेप्पोका चिकित्सकहरुले अमेरिकी राष्ट्रपतिलाई के भनेर लेखे चिठी ?
द्वन्द्वग्रस्त सिरियाली शहर एलेप्पोमा कार्यरत चिकित्कसले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सहयोगको अपिल गरेका छन् ।
एलेप्पोमा रहेका २९ जना फिजिसियनले राष्ट्रपति ओबामालाई पत्र लेखेर सहयोगका लागि अपिल गरेको बिबिसीले जनाएको छ । उनीहरुले एलेप्पोमा रहेका २ लाख ५० हजार नागरिकका लागि सहयोगको व्यवस्था गरिदिन आग्रह गरेका हुन् ।
अहिले स्वास्थ्य सेवा प्रदायकमाथि आक्रमण भइरहेको र यही दरमा आक्रमण भए अबको एक महिना भित्र एलेप्पोमा कोही पनि चिकित्सक बाँकी नरहने पत्रमा उल्लेख छ । चिकित्सकहरुले राष्ट्रपति ओबामासँग एलेप्पोलाई नो फ्लाई जोन घोषणा गरेर हवाई आक्रमण रोक्न आग्रह गरेका छन् ।
यसैबीच रुसले बिहीबारदेखि एलेप्पोमा तीन घण्टा आक्रमण बन्द गर्ने बताएको छ । त्यो समयमा राहत सामग्री जान दिने रुसको भनाई छ ।
संयुक्त राष्ट्रसंघले भने तीन घण्टा अपर्याप्त हुने बताएको छ । एलेप्पोमा पछिल्ला दिन आक्रमण सघन बन्दै गएका छन् ।
सिरिया सरकारको विरोधमा रहेका समूहले आक्रमण तीब्र पारेका छन् । यस्तै रुसी सेनाले हवाई आक्रमण गर्दै आएको छ ।