राजनीतिलाई अपराधमुक्त गरिनुपर्छ : गृहमन्त्री निधि


Nidhiउपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिलाई अपराधमुक्त गरिनुपर्ने बताउनुभएको छ ।

रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टद्वारा आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व रामजी पौडेल ‘बादल’ को प्रथम वार्षिक स्मृतिसभामा उहाँले राजनीतिलाई अपराधमुक्त गर्नुपर्ने र समाजमा बसोबास गर्ने जो कोही व्यक्ति सुरक्षित बन्नुपर्ने धारणा राख्नु भयो ।

रहस्यात्मक रुपमा भएको बादलको हत्याले नेपाली काँग्रेसका साथै समग्र राष्ट र लोकतन्त्रले क्षति बेहोर्नु परेको बताउँदै उहाँले हत्याका दोषीले सजाय पाउनुपर्ने बताउनुभयो । हत्याको छानबिनका सम्बन्धमा अदालतको जारी प्रक्रिया एवम् कारबाहीमा सरकारले सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।

देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन आवश्यक रहेको छ भन्दै गृहमन्त्री निधिले संविधानका सम्बन्धमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर विद्यमान समस्या समाधान गरिने बताउनुभयो ।

“माओवादी केन्द्रसँग भएको सातबुँदे सहमति र मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति सरकारको भावी कार्यदिशाको गन्तव्य बिन्दु हो”– उहाँले भन्नुभयो, “सबै किसिमका समस्या समाधान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन र भूकम्पपछिको पुनःनिर्माणलगायतमा सरकार सक्रियताकासाथ लागिपर्नेछ, २०७४ माघ ७ सम्म सबै तहको निर्वाचन सम्पन्न नगरे संविधान धरापमा पर्न सक्छ ।”

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस नेता बादलको हत्या निष्ठा र आदर्शमाथिको हत्या भएको बताउँदै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिनुपर्ने बताउनुभयो ।

रामजी पौडेल ‘बादल’ मेमोरियल ट्रस्टका अध्यक्ष चन्द्रावती पौडेलले हत्याको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो । नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवम् सांसद यज्ञबहादुर थापा, सांसद बृन्दा राना र शारदा पौडेल, नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, तारा अधिकारी, प्रा डा यमनाथ तिमल्सिना लगायतले व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी र समाजका लागि स्व बादलले गर्नुभएको योगदान चीरकाल पर्यन्त बाँचिरहने विचार व्यक्त गर्नु भयो ।

उक्त अवसरमा ट्रस्टद्वारा प्रकाशित रामजी पौडेल ‘बादल’ स्मृति दर्पणको उपप्रधान एवम् गृहमन्त्री निधिले विमोचन गर्नुभयो । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?