संन्यासको निर्णय फिर्ता लिँदै लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किए
दुइ महिनाअघि लिएको संयासको निर्णय फिर्ता लिँदै लियोनल मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् ।
करिब दुइ महिनाअघि कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएसँगै बार्सिलोनाका सुपर स्टार स्ट्राइकर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संयासको घोषण गरेका थिए । लगातार तीन ठूला प्रतियोगिताको फाइनलमा अर्जेन्टिनालाई उपाधी दिलाउन असफल भएसँगै संन्यासको घोषणा गरेका अर्जेन्टिनाका तत्कालिन कप्तान मेसीलाई निर्णय पुनर्विचार गर्न चौतर्फी दबाब आइरहेको थियो ।
मेसीले देशको मायाका कारण राष्ट्रिय टिममा फर्किने निर्णय गरेको बताएका छन् । आफ्ना लागि अर्जेन्टिनाको जर्सीले निकै महत्व राख्ने उनको भनाइ छ । अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता २९ वर्षीय मेसीले राष्ट्रिय टिमबाट अहिलेसम्म १ सय ३३ खेलमा ५५ गोल गरेका छन् ।