रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराईले भंग गरिन् २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान !


Sarashwotiब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिक खेलकुदमा एथ्लेटिक्स नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी छन् ।

शनिबार भएको १५०० मिटर मध्य दूरीको दौडमा सरस्वतीले राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । सरस्वतीले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी हुन् । यसअघि राजकुमारी पाण्डेले सन् १९९० को एसियाली खेलकुदमा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

सरस्वतीको यसअघि १५ सय मिटरमा उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको थियो ।

एथलेटिक्सकै हरिप्रसाद रिमालले भने पाँच हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा भदौ ४ गते प्रतिस्पर्धा गर्ने कार्यतालिका छ । अहिलेसम्म नेपालबाट ७ मध्ये पाँच जनाले प्रतिस्पर्धा गरिसकेका अवस्थामा सरस्वती र पौडी खेलाडी शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान तोड्दा बाँकी तीन जनाले ओलम्पिक सहभागीताको अनुभव मात्र लिएर फर्किएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?