आइतबार सम्पन्न एनआरएन अष्ट्रेलियाको बैठकका निर्णयहरु के हुन् ?


nrnएनआरएन अष्ट्रेलियाले अक्टोबरभित्र विधान संशोधन गरी संस्थालाई संघीय तहमा दर्ता गर्ने भएको छ । आइतबार सम्पन्न एनआरएन अष्ट्रेलियाको बैठकले यससँगै विभिन्न निर्णयहरु गरेको छ । बैठकमा एनआरएन अष्ट्रेलियाले विद्यार्थी कल्याणकारी कोष निर्माण गर्नका लागि अष्ट्रेलियाव्यापी रुपमा सञ्चालन गरेको वाक फर वेलफेयरबाट खर्च कटाएर ४० हजार बचत भएको र ५ हजार उठ्न बाँकीसहित ४५ हजार डलर संकलन भएको र यसलाई सबै राज्य समितिहरुले ५ हजार थप गरी ५० हजार डलर बनाउने भएको छ । एक लाख डलरको कोषलाई आगामी २०१७ को फेब्रुअरीसम्ममा पूर्णता दिने अठोट पनि एनआरएन अष्ट्रेलियाको छ । खातामा ५० हजार डलर जम्मा भएपनि आगामी बैठकभित्रमा यस परियोजनाका संयोजक एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल र अध्यक्ष सुरेन्द्र सिग्देलले नीतिलाई अन्तिम रुप दिने कार्यान्वयनमा लैजाने योजना एनआरएन अष्ट्रेलियाको रहेको छ । संस्थाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीका अनुसार बैठकले अक्टोबर ११ मा पर्ने एनआरएन स्थापनाको अवसरमा अक्टोबर ८ र ९ तारिख अष्ट्रेलियाभर रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । यसैगरी कार्यकालको एक वर्ष पुगेको अवसरमा गतवर्ष सञ्चालन गरिएका गतिविधिलाई समेटेर प्रवक्ताले एक साताभित्र सबै सदस्यहरुसहित सञ्चारमाध्यमलाई जानकारी दिने निर्णय भएको छ । यसअघि न्यूसाउथवेल्स राज्य समितिले आपूmले एक वर्षमा गरेका गतिविधिको समिक्षासहित वार्षिक कार्यक्रम सम्पन्न गरिसकेको छ । यसैगरी बैठकले साउदी अरबको जेलमा रहेका रामचन्द्र तिमल्सिनाको ब्लडमनी तिर्नका लागि सहयोग संकलन भइरहेकोमा सन्दर्भमा आवश्यक रकम उठिसकेको जानकारी आएकोले त्यसको तथ्य बुझी रकम आवश्यक भए पहल गर्ने निर्णय गरेको समेत जानकारी रेग्मीले दिनुभयो । यस्तै सिड्नीकी नेपाली क्यान्सर पीडित मनिषा स्यांग्बोको सहयोगका लागि सदस्य उषा बारियाको संयोजकत्वमा ग्रानभिलमा हुन लागेको निक्की कार्की मिट एण्ड ग्रिटलाई सफल तुल्याउने निर्णय पनि गरेको छ । यससँगै अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गर्न लागिएको नेपाल महोत्सवबारे समेत छलफल भएको र कार्यक्रमलाई सफल पार्ने विषयमा छलफल गरिएको पनि प्रवक्ता डा. रेग्मीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?