फेशनमाण्डू २०१६ मा शोस्टपर नायिका नम्रता श्रेष्ठ, लेक्स लिम्बु पनि आउँदै
यस वर्षको फेशनमाण्डूमा नायिका नम्रता श्रेष्ठले शोस्टपरका रुपमा सहभागिता जनाउने भएकी हुन् । के गरिरा डटकमको आयोजनामा गतवर्षबाट सुरु भएको फेशनमाण्डूमा रनवेमा नेपालीसहित अन्य विभिन्न देशका मोडलहरुले पनि क्याटवाक गर्नेछन् । विभिन्न प्रतिस्पर्धाबाट छनोट भएका मोडलहरुले लेना कस्पेरियन, ऐन्या हुरउड, रसना श्रेष्ठ, सुचित्रा शाक्य, जेएफ डिजाईन, रोचेल मुरी फेशन डिजाईन, आयेशा ईल्सा थापाका डिनाईनका विभिन्न सिक्वेन्समा आफुलाई प्रस्तुत गर्नेछन् । हस्र्टभिलस्थित मराना अडिटोरियममा हुने यस रनवे शोको लागि पूरै स्टेजको नयाँ सजावट गरिने र रनवे निर्माण गरिने आयोजक किरण नेवाले एमएनटीभीलाई जानकारी दिएका छन् । कार्यक्रमबाट उठेको रकममध्ये अनाथ बालबालिकाको निम्ति कार्यरत रहेको जीवन उत्थान संस्थालाई दिइने भएको छ । के गरिरा डटकमकी अर्चना थापाले कार्यक्रममा चर्चित ब्लगर लेक्स लिम्बुले सञ्चालन गर्नेछन् । यही कार्यक्रममा सहभागी हुन लेक्स बेलायतबाट अष्ट्रेलिया आउने तय भएको पनि उनले जानकारी दिइन् । टिकटको बिक्री सुरु भएको र के गरिरा डटकमको आधिकारिक साईटमा गएर आफ्नो सिट सुरक्षित गर्न समेत थापाले आग्रह गरेकी छिन् । फेशनमाण्डू १८ नोभेम्बर शुक्रबारका दिन आयोजना हुनेछ । फेशनमाण्डुको प्रमुख प्रायोजक किंग्स ओन ईन्ष्टिच्युट रहेको छ भने ट्राभल पार्टनर बुद्ध ट्राभल्स रहेको छ । ब्रोडकास्टिंग पार्टनर एमएनटीभी अष्ट्रेलिया रहेको छ ।