यमनको एक अस्पतालमा गरिएको हवाई आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु
यमनको एक अस्पतालमा गरिएको हवाई आक्रमणमा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
परोपकारी संस्था मेडिसिन सान्स फ्रन्टियर्स एमएसएफले उत्तरी क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण हुँदा उनीहरुको मृत्यु भएको हो ।
हज्जाह प्रान्तस्थित अस्तालमा भएको आक्रमणमा अन्य १९ जना घाइते भएको बीबीसीले जनाएको छ । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले हवाई आक्रमण गरेको आशंका छ । गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ ।
गठबन्धनले यस विषयमा अहिलेसम्म केही बताएको छैन । त्यसक्षेत्रमा गएको केही दिनदेखि हवाई आक्रमण भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । फेरि आक्रमण हुन सक्ने डरका कारण उद्धार तथा राहतको काम पनि प्रभावित भएको छ ।
यमनमा सन् २०१५ देखि सुरु भएको संघर्षका कारण अहिलेसम्म ६ हजार ६ सय भन्दा धेरै मानिसको ज्यान गएको छ ।