सिरियाको जेलभित्रै १८ हजार बन्दी मारिएको एमनेस्टी इन्टरनेसनलको दाबी !
एमनेस्टी इन्टरनेसनलले सिरियाको जेलमा यातना दिएरै १८ हजार बन्दी मारिएको जनाएको छ ।
गृहयुद्धमा फसेयता सिरियाली सरकारले जेलमा सडाएरै हजारौं बन्दीलाई मृत्युको मुखमा धकेलेको हो । सन् २०११ देखि १५ को बीचमा जेलमा रहेका कैदीलाई यातना र बलात्कार गरेर मारिएको एम्नेष्टीको प्रतिवेदनमा दावी गरिएको छ । यातना पीडित जिवित ६५ जनाको अन्तर्वार्तासमेत समेटिएको उक्त प्रतिवेदनमा पीडितहरुले बन्दी गृह र जेल नरकसरह रहेको जनाएका छन् ।
मानवीयताकै अन्त्य नाम दिइएको प्रतिवेदनमा यातना दिएरै दैनिक दश जनाको हत्या गर्ने गरिएको जनाइएको छ । अधिकारकर्मी समूहहरुले सिरियामा दिइँदै आएको यातना अन्त्यका लागि राष्ट्रपति बसर अल असदको सरकारलाई दबाब दिन विश्व समुदायसँग लगातार आग्रह गर्दै आएका छन् भने सिरियाले यस्ता सबै आरोप अस्वीकार गरिरहेको छ ।