आठ सय सहभागी मेलबर्नको न्याभ तीजमा पनि चल्यो कोमल ओलीको जादू
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन केही समय बाँकी नै छ । तर, तीज विशेष अष्ट्रेलिया टूर सम्पन्न गरेर गायिका कोमल ओली आज स्वदेश फर्कदैछिन् । अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा सहभागी भएर उनी नेपाल फर्किन लागेकी हुन् । उनको यो तीज यात्राको मैजारोभने मेलबर्नबाट भयो । मेलबर्नमा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा भएको एईसीसी न्याभ तीज मेला २०१६ मा सहभागी भएकी उनीले स्टेजमा चढेदेखि कार्यक्रम अन्त्य नभएसम्म नै निरन्तर गाइरहिन् । बीचबिचमा ज्ञानज्ञुनका कुरा समेत भनेर उपस्थितहरुलाई उत्साही तुल्याउने उनले करिब एक दर्जन सहभागीलाई सधैं सौभाग्यवती रहनू भन्ने आशिष पनि दिइन् । स्टेजमा नाच्दै गाउँदा पनि उनी सहभागीहरुको हाउभाउ र नाच हेर्नमा व्यस्त थिइन् । मन खोलेर तीजको रमाइलोमा नाच्नेहरुले उनको हातबाट सौभाग्यको चिनो पोतेको माला उपहार
पनि पाए । पुरुषहरुलाई पूर्णतः प्रवेश निषेध गरिएको कार्यक्रममा स्वयंसेवक, आयोजक र सीमित पत्रकारबाहेक अरु कोही पनि पुरुष थिएनन् । अल्पमतमा परेका शिवजी भन्दै उनले थालेको व्यंग्य दिदीबहिनीहरुलाई अर्ती र उपेदश दिँदासम्म निकै अघि बढिसकेको थियो । अष्ट्रेलियाको भूमिमा रहने नेपाली नारीहरु भाग्यमानी हुन् भन्दै गायिका कोमल ओलीले आफ्नो संस्कार जोगाउने कामको नेतृत्व लिन नारीहरुलाई हौस्याउँदै नेपालका विभिन्न जिल्लामा भइरहेका विभेदहरुका बारेमा जानकारी समेत दिइन् । उनले भनिन्, “सानो उमेरमा बिहे गरिदिनुभन्दा त बाबुआमाले छोरीलाई बरु जिउँदै जलाइदिउन् । किनकी छोरी जलाउँदा एक पटक मर्छे र सानै उमेरमा बिहे गरिदिँदा पल पल मरिरहन्छे ।” उनले भन्न खोजेकी थिइन् नेपालका गाउँहरुमा अझै पनि बालविवाह कायमै छ । यस्तो कार्यलाई रोक्नुपर्छ । यसरी कहिले कहिले गम्भीर र कहिले रमाइलो तालमा “पोइला जान पाम्,” “पोइला जाने यो लाष्टै चोटी हो”, “बाँझो खेतमा छड्के सलाम छ”, “रोइला” गरी उनले करिब दुई घण्टाभन्दा बढी आफ्नो जादू चलाइन् । यसअघि पर्थको कार्यक्रम सकाएर मेलबर्न झरेकी नेपाली चेली गायिका कोमल ओलीले भनिन्, विमानस्थलमा पुर्याउन त २६ जनाको टोली पो आएको थियो त । उनी पर्थमा दिएको न्यानो अतिथ्यबाट निकै खुशी देखिइन् । त्यसअघि ब्रिसबेन, डार्विन र सिड्नीको कार्यक्रममा समेत उनले दिदीबहिनीको साथ मात्र पाइनन् । कार्यक्रमपछि आयोजना गरिएका मिट एण्ड ग्रिटमा समेत दाजुभाईहरुको समेत माया पाइन् । कोमल ओलीको तीज कन्सर्ट अघि सहभागीहरुले र्याम्पमा क्याटवाक समेत गरेका थिए । उनीहरुको क्याटवाकको आधारमा एईसीसी न्याभ तीज प्रिन्सेस सात वर्षकी पल्पसा पोखरेल घोषित भइन् भने एईसीसी न्याभ तीज क्वीन लक्ष्मी पोखरेल बन्न सफल भइन् । न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले कार्यक्रम आयोजना गर्न अहोरात्र खटिने न्याभका पदाधिकारीसहित स्वयंसेवकहरु, प्रायोजक र उपस्थित दर्शकहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । तीज विशेषका लागि गायिका कोमल ओलीलाई नारी निकुञ्ज अष्ट्रेलियाले आमन्त्रण गरेको हो । न्याभको तीज मेलामा ८ सय भन्दा बढी सहभागी भएको उक्त संस्थाले जनाएको छ । कार्यक्रमको लागि नेप्ले ईभेन्टसँग न्याभले साझेदारी गरेको थियो ।