मेलबर्नमै नेपाल सम्झाउने चित्रकार ग्यालरीमा रम्दै अरुण
- चिरञ्जीवी देवकोटा (मेलबर्न)
नेपाली कला, संस्कृतिको प्रबद्र्धन अष्ट्रेलियामा नेपाली समूदायका अगुवाहरुले गरिरहेका छन् । विभिन्न माध्यमबाट उनीहरु यहाँ रहने अन्य समूदायका व्यक्तिहरुलाई आफु र आफ्नो देशको बारेमा बताइरहन्छन् । यस्तै नेपाली कला र चित्रकारिताका साथै नेपाली हस्तकलाका सामानहरुको प्रबद्र्धन गर्ने उद्देश्यका साथ क्रियाशील भएका छन् अरुण चित्रकार । चित्रकलामा अघि बढेका अरुण फोटोग्राफीमा पनि रुचि राख्दछन् । उनले मेलबर्नमा सञ्चालन गरेको चित्रकार गयालरीमा यतिबेला नेपाली मात्र होइन, नेपाललाई माया गर्ने, नेपालीपनलाई मन पराउने धेरैजना पुगने गरेका छन् । चित्रकार ग्यालरीले हालै आफ्नो अनलाईन अर्डर सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । उनी भन्छन्, “कसैलाई केही उपहार दिनुपर्यो भने हामी आधुनिक पाराका अनेक चिज खोजदछौं । तर, नेपालीपनको नेपाली हातहरुले नै बनाएको उपहार जुन अनन्तकालसम्म हाम्रो साथमा रहिरहन्छ त्यस्तो उपहार पो उपहार । उनी भन्छन्, लुगा पनि एउटा सिजन लगाएर नसकिदै बजारमा नयाँ फेसन आइसकेको हुन्छ । गिफ्ट भनेको त यस्तो दिउँ न जुन चिरकालसम्म रहोस् ।”
अरुणले भनेको जस्तै आफुलाइ मनपर्ने नेपाली कला,संस्कृती,प्रकृति र नेपालीपन झल्किने थरिथरिका चित्र, मुकुण्डो, मूर्ति किनेर तपाईं आफ्ना मित्र वा आफन्तजनहरुलाइं गिफ्ट दिन सक्नुहुनेछ । उनको ग्यालरीमा नेपाली विभिन्न आकर्षक चित्रहरू मात्र होइन विभिन्न देवी देवताका मुकुण्डोहरु समेत बिक्रीमा राखिएका छन् । यी चित्र र मुकुण्डोहरु विशुद्ध नेपाली पौरखका उपज हुन् ।
नेपालको प्राचीन र ऐतिहासिक शहरमा तयार पारिएका ती मौलिक कलाकृतिहरु विदेशी भूमिमा अझ बढी महत्त्वपूर्ण लाग्छ । कला र सस्कृतिमा अब्बल नेपाल विभिन्न जातजाति, भाषा, धर्म,पेशा र व्यवसायले गर्दा विश्वका अन्य मुलुक र जनताका लागि समेत नेपाली कला र सस्कृती नवीन लाग्न सक्छ । नेपाली कलाकारद्वारा सृजित आफ्नो देश र जातिको पहिचान बोकेको हस्तकला, मूर्तिकला,चित्रकलालाई विश्वभर पहिचान दिनु चित्रकारको अभिष्ट हो । नेपाली कलाकारहरूको ती पौरखी हात अनि कलाप्रतिको प्रेमलाई आफ्नो राष्ट्र र राष्ट्रियतासंग जोड्दै नेपाली कला, सस्कृती र नेपालीपनको प्रबर्द्धन गर्ने उदेश्यले ग्यालरी शुरु गरिएको सञ्चालक चित्रकारले एमएनटीभीलाई बताए । नेपालको विभिन्न जिल्लामा परोपकारी काममा समेत अग्रसर चित्रकार चित्रकारले नेपालीमा कला र सस्कृतीका क्षेत्रमा ख्याति कमाएका कलाकारका चित्रकला, हस्तकला, मूर्तिकलाले ग्यालरी सजाएका छन् । यसो गर्नुको एकमात्र अभिष्ट कला र सस्कृतिका माध्यमबाट नेपाललाई मेलबर्नमा परिचित गराउनु रहेको बताउँछन् चित्रकार ।