इराकमा आत्मघाती विस्फोटको तयारी गरिरहेको अवस्थामा १५ वर्षीय बालक पक्राउ
इराकमा आत्मघाती बिस्फोटको तयारी गरिरहेको अवस्थामा एक बालकलाई पक्राउ गरिएको छ ।
१५ वर्षीय एक बालकलाई बिस्फोटक पदार्थसहितको बेल्ट लगाएको अवस्थामा किरकुकमा पक्राउ गरिएको इराकी प्रहरीले जनाएको छ ।
पक्राउ परे लगत्तै उनको शरीरमा रहेको बिस्फोटक पदार्थ नष्ट गरिएको छ । पक्राउ परेका बालकले शिया समुदायको धार्मिक स्थलमा बिस्फोट गराउने आफ्नो योजना रहेको बयान दिएका छन् ।
यसअघि पनि इराकी प्रहरीले बिस्फोट पदार्थले भरिएको बेल्ट लगाएका एक युवकलाई गोली हानी मारेको थियो ।
किरकुक शहरको मस्जिदमा प्रवेश गर्ने क्रममा उनलाई गोली हानिएको बताइएको छ । पछिल्लो समय इराकमा सुरक्षा ब्यबस्था कडा बनाई सर्वसाधारणमाथि कडा निगरानी गरिएको छ । इराकमा हरेक साता हुने गरेको बिस्फोटमा थुप्रैको ज्यान जाने गरेको छ ।