साउथ अस्ट्रेलियाका मन्त्रीद्वारा योग कीर्तिमानी मोक्तान सम्मानित
साउथ अस्ट्रेलिया राज्यका बहुसंस्कृतिमन्त्री जोय बेटिसनले योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तानलाई सम्मान गर्नुभएको छ ।
त्यहाँ रहेका नेपाली भाषी भुटानी समुदायले अस्ट्रेलियाको एडिलेड शहरमा आयोजना गरेको एक भव्य कार्यक्रममा उहाँलाई सो सम्मान गरिएको हो ।
कीर्तिमानी मोक्तानलाई खादा ओढाई सम्मानपत्रले सम्मानित गर्दै मन्त्री बेटिसनले भन्नुभयो–“नेपालबाट योगमा विश्वकीर्तिमान बनाउने मोक्तानजस्ता व्यक्तित्व अस्ट्रेलिया आउनुभएकोमा मलाई खुसी लागेको छ । म उहाँलाई हार्दिक स्वागतसहित सम्मान गर्दछु ।”
कीर्तिमानी मोक्तानले रासससंग अनलाइनमा भन्नुभयो– “यहाँको संस्कृतिमन्त्रीबाटै सम्मानित हुन पाउँदा मलाई नेपाल र सम्पूर्ण नेपाली समुदाय नै सम्मानित भएको महसुस भएको छ । यसबाट म असाध्यै खुसी छु ।”
कार्यक्रमको संयोजन भुटानिज अस्ट्रेलिया एसोसिएसन अफ साउथ अस्ट्रेलियाले गरेको हो । विश्व दर्शन अभियान, नेपालसँग आबद्ध विश्वकीर्तिमानी मोक्तानलाई यसअघि पनि अस्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसङ्गठनले भव्य सम्मान गरेका थिए ।
मोक्तानले नेपालमा ५० घण्टा १५ मिनटसम्म लगातार योग गरी योग म्याराथनको विश्व किर्तिमान कायम गरी गिनिज प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । रासस