पुननिर्माणमा खटिएकी एन्जेला भन्छिन्, ‘नेपालसँग मेरो माया बस्यो’ (भिडियोसहित)
चिरञ्जीवी देवकोटा/मेलबर्न
नेपालमा भूकम्पपछि पुननिर्माणका धेरै कुरा भएका छन् । काम पनि भएको छ । तर, त्यो त्यति प्रभावकारी नभएको धेरैको
ठम्याई छ । सबै प्रयासहरुलाई एकीकृत गर्ने र तिनलाई जनताको समेत सहभागितामा अघि बढाउने कार्य नै यतिबेलाको लागि सबैभन्दा महत्वपूर्ण विषय बनेको छ । विदेशमा बस्ने नेपालीहरुले मात्र होइन । नेपालमा मानवीय रुपमा आफ्नो सहयोगलाई अघि बढाउने धेरै छन् । अष्ट्रेलियामा यस्ता सहयोगी मनहरु धेरै छन् । यसैकारण शायद एनआरएनले संकलन गरेको सहयोग रकममा अष्ट्रेलिया सबैभन्दा धेरै सहयोग जुटाउने एनसीसी समेत बन्न पुगेको थियो । आज हामीले चर्चा गर्न लागेकी व्यक्ति हुन् ओपन ह्याण्ड्स नामक संस्थाकी संस्थापक एन्जेला हान । उनीले एमएनटीभीसँग सुरुमै भनिन्, “नेपालसँग मेरो माया बसेको भूकम्प आउनु अघि नै हो ।” गत आईतबार उनले मेलबर्नमा एक च्यारिटी कन्सर्टको आयोजना गरिन् । स्थानीय मेथोडिष्ट लेडिज कलेज मेलबर्नको अडिटोरियम नेपालबाट ल्याइएका बौद्ध परम्परा अनुसारका धार्जेहरुबाट सजाइएको थियो । लाग्थ्यो कुनै गुम्बाको छेवैमा बसेर हामी संगीत सुनिरहेका छौं । संगीत पनि त्यस्तो जहाँ ट्रीयो ब्रेसियानीसहित चार जना विश्वस्तरीय संगीतकारहरुको भ्वाईलिन र पियानोको साथमा नेपालमा खिचिएका ‘भूकम्प पछि पनि जीवन झल्किने’ मनमोहक दृश्यहरु समेत देखाइएको थियो । कार्यक्रममा भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले बोल्दै एन्जेलाको नेतृत्वमा भएको यो कार्य धेरैका लागि प्रेरणाको श्रोत बन्ने बताउनुभयो । उहाँले यस महान कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै हातेमालो गरेर नेपाललाई अत्यावश्यक रहेको यो बेलामा सहयोगमा जुट्न पनि आह्वान गर्नुभयो । यो च्यारिटी संस्थाले मुख्यतः नेपालमा कसरी भूकम्प प्रतिरोधी भवन बनाउ नसकिन्छ भनेर आफ्नो कार्यलाई केन्द्रित गरेको छ । गाउँ गाउँमा पुगेर त्यहीँको सामग्रीलाई प्रयोग गरेर निर्माण सामग्री, ईंटा लगायत बनाउने तालिम दिने गर्दछ । स्थानीय समूदायसँगको सहकार्यमा बसेर कार्य गरिरहेको संस्थाले १० वटा गाउँलाई आफ्नो गन्तव्य बनाएको छ ।
एन्जेला भन्छिन्, “धेरै एनजीओहरुले पैसा दिने कुरा गर्छन् । तर, हामी गाउँलेहरुलाई शिप सिकाउछौं । ईंटा बनाउने तालिम दिन्छौं । यति मात्र होइन । उनीहरुले तालिम लिइसकेपछि अर्को गाउँमा गएर त्यही तालिम अरुलाई पनि दिने गरेका छन् । यसले स्थानीय तहमा उनीहरुको आत्मनिर्भरताको लागि पनि योगदान दिन्छ भन्ने हामीले ठानेका छौं ।”
पहिलो पटक पाँच हप्ता विताएर अष्ट्रेलिया फर्केकी एन्जेला दोश्रो पटक पनि गईन् र त्यतिबेला पनि पाँच हप्ता नै विताएर आइन् । एन्जेला भन्छिन्, “अब फेरि जाने सोचमा छु, फेरि कम्तिमा पनि ६ हप्ता म बस्न चाहन्छु । र, भूकम्प प्रभावित ठाउँहरुमा पुगेर त्यहाँका बासिन्दाहरुसँगै त्यहाँकै जनजीवनमा रम्दै उनीहरुलाई घर बनाउने कार्यमा सघाउने मेरो ईच्छा छ ।”
भिडियोमा हेर्नुहोस् कन्सर्टको केही दृश्यहरु र एन्जेलासँग गरिएको कुराकानी