हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा १ करोड ७२ लाख रुपैयाँसहित आठ जना पक्राउ
अवैद्य हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट प्रहरीले १ करोड ७२ लाख रुपैयाँ बरामद गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले न्यूरोड र प्युखामा पसल सञ्चालन गर्दै आएका पवन सरावगी, मोहनमान श्रेष्ठ, कुमार राई, निर्दोष प्रसाईं, राजन पौडेल, टलबहादुर तामाङ, अमित खरेल र रोहित दुलाललाई पक्राउ गरेको हो ।
सरावगीबाट ६३ लाख ५० हजार, श्रेष्ठमा २० लाख, प्रसाईबाट १९ लाख, पौडेलबाट ३२ लाख, तामाङबाट ११ लाख, खरेलबाट १२ लाख र दुलालबाट ५ लाख रकम प्रहरीले बरामद गरेको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मनी चेन्जर, मनी ट्रान्फर र ट्राभल एजेन्सीको आवरणमा हुन्डी कारोबार हुने सूचनाको आधारमा महाशाखाले यसअघि न्यूरोड, दरबार मार्ग, ठमेल लगायतका क्षेत्रमा छापामारी २० भन्दा बढी कारोबारीलाई पक्राउ गरिसकेको छ ।