एनआरएन अष्ट्रेलिया स्पोर्टस डे क्रिकेटको उपाधि वारियर्स राईनोलाई
एनआरएन अष्ट्रेलियाले खेलको माध्यमबाट समूदायलाई एकताबद्ध तुल्याउने उद्देश्यका साथ सञ्चालन गरिएको एनआरएन स्पोर्टस डे अन्तर्गतको क्रिकेटका खेलहरु सकिएका छन् । अष्ट्रेलियाका विभिन्न १२ टिम सहभागी रहेको यस प्रतियोगिताको उपाधि वारियर्स राइनोले जितेको छ भने वेष्ट युनाईटेड क्रिकेट क्लब दोश्रो बनेको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा क्यानबेरा र सिड्नीका टीमहरु स्पर्धामा थिए । क्रिकेट प्रतियोगिताको संयोजक विजय शर्मा रहेका थिए ।
फाईनल खेलको म्यान अफ द म्याच नविन गुरुंग बन्न सफल भए । प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट प्रशान्त विष्ट बनेका छन् भने बेष्ट व्याट्सम्यान कृतन ताम्राकार र बेष्ट बलर निरज पाण्डे घोषित भए । विजेताहरुलाई खेल संयोजक नन्द गुरुंग तथा एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले ट्रफी हस्तान्तरण गर्नुभएको थियो । विभिन्न उपाधि जित्ने खेलाडीहरुलाई एनआरएनका पदाधिकारी र प्रायोजकहरुले समेत उपाधि प्रदान गरेका थिए । फाईनल खेल अत्यन्तै रोमाञ्चक बनेको थियो । प्रतियोगिताको उपाधि जितेको वारियर्स राईनोले उपाधिसँगै १४ सय डलर पनि प्राप्त गरेको छ भने दोश्रो टिमले ७ सय डलर पुरस्कार पनि प्राप्त गरेको छ । स्पोर्टस डे अन्तर्गतका सबै खेलका विजयी खेलाडीहरुलाई एक गाला डिनर कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने एनआरएनका खेल संयोजक नन्द गुरुंगले जानकारी दिनुभयो । अब एनआरएन स्पोर्टस डे अन्तर्गत फुटबल प्रतियोगिता हुन बाँकी छ । यसअघि भलिबल, बास्केटबल प्रतियोगिता सम्पन्न भइसकेको छ । एनआरएनको यो खेल प्रतियोगितालाई एविके लयर्सले मुख्य प्रायोजन गरेको छ भने ईभेन्ट पार्टनर एडभान्स कलेज अफ हेल्थ रहेको थियो ।