गुण्डा नाइके दीपक मनाङ्गे जेल चलान
गुन्डा नाइके दीपक मनाङ्गे जेल चलान भएका छन् । ब्यक्ति बन्धक तथा अपहरण मुद्दामा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेको हो ।
उनलाई डिल्लीबजार कारागारमा लगिएको छ । संगठित अपराधमा मुद्दामा भने अदालतले उनलाई उन्मुक्ति दिएको थियो । व्यक्तिलाई बन्धक बनाएर रकम असुल गरेको आरोपमा प्रहरीले २ महिनाअघि उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धानपछि संगठित अपराधअन्तर्गत १० वर्षको कैद सजायको माग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई अनुसन्धानको प्रस्तावित राय पठाएको थियो ।
परिसरले व्यवसायीलाई धम्क्याएको भन्दै मनाङेलाई असार १८ मा सहयोगी राजकुमार सिंहसहित पक्राउ गरेको थियो । उनको समुहमा अन्य तीन जना समेत रहेको भन्दै परिसरले उनीमाथी संगठित अपराध ऐनअन्तर्गतको अभियोगमा अदालतबाट अनुसन्धानको म्याद लिएको थियो ।
तर जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने फरार रहेका भनिएका तीन जनाको संलग्नता स्थापित हुन नसकेको भन्दै संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेको हो ।