तीन संस्थाले तीजमा मिन्टो स्टेशनबाट शिव मन्दिरसम्म निःशुल्क बस सेवा दिने


एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स, झापाली समाज अष्ट्रेलिया र प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सिड्नीको मिन्टो ट्रेन स्टेशनदेखि शिव मन्दिरसम्म निःशुल्क यातायातको व्यवस्था गर्ने भएका छन् । एनआरएन न्यूसाउथवेल्सका सचिव भुपाल सिटौलाले एमएनटीभीसँग कुरा गर्दै नेपाली नारीहरुको महत्वपूर्ण चाडमा विगतमा जस्तै यस पटक पनि निःशुल्क सेवा दिन लागिएको बताउनुभयो ।Teej111 “तीजमा निराहार व्रत बस्ने चलन छ । त्यसमाथि मिन्टो ट्रेन स्टेशनपछि मन्दिरसम्म जान आफ्नै साधन नहुँदा आइपर्ने समस्यालाई मध्यनजर गरेर हामीले यस्तो सेवा प्रदान गर्न लागेका हौं,” सिटौलाले भन्नुभयो । यसैगरी झापाली समाजका कोषाध्यक्ष अजय राजवंशीले विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म निःशुल्क यातायातको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । प्रवासी नेपाली मञ्चले पनि यसवर्षदेखि तीजको अवसरमा शिव मन्दिर जान चाहनेहरुका लागि निःशुल्क सेवा सुरुवात गरेको संस्थाका अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो । उहाँले सिड्नीजस्तै अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत स्थानीय मन्दिरसम्म जानका लागि यातायातको व्यवस्था गर्ने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?