अमेरिका र मेक्सिकोबीच लगाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले बेहोर्नुपर्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिकाको सीमामा लगाइने पर्खालको सम्पूर्ण खर्च मेक्सिकोले बेहोर्ने बताउनुभएको छ ।
मेक्सिको भ्रमणबाट फर्किएपछि एरिजोनामा आयोजना गरिएका सभालाई सम्बोधन गर्दै ट्रम्पले मेक्सिकोका आप्रबासी अमेरिकाको टाउको दुखाईको विषय भएको भन्दै उनीहरुलाई रोक्न दुई देशबीचको सीमामा पर्खाल लगाउनु अति आवश्यक भएको बताउनुभयो ।
आप्रवासीका कारण विश्वमा आतंकवाद मौलाएको भनाई दोहो¥याउँदै ट्रम्पले पर्खाल लगाउनेमा मेक्सिको सकारात्मक हुनुपर्ने बताउनुभयो ।
मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोको निमन्त्रणामा जानुभएका ट्रम्पले मेक्सिकोमा रहँदा भने मेक्सिकोका जनताको खुलेर प्रशंसा गर्नुभएको थियो । यद्यपी राष्ट्रपतिसँगको भेटमा भएको कुराकानी भने बाहिर ल्याइएको छैन ।
यसअघि ट्रम्पले चुनावी प्रचारका क्रममा मेक्सिकोबाट अमेरिका आउने व्यक्ति हत्यारा तथा बलात्कारी भएको बताउनुभएको थियो । ट्रम्पले मेक्सिकोमा रहँदा आफूले अमेरिका र मेक्सिकोबीच पर्खाल लगाउने विषयमा कुरा नभएको बताउनुभयो ।