ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफविरुद्धको महाभियोगको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित


Rousseffब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो ।

सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए । सिनेटका ८१ मध्ये ६१ जना सिनेटरले महाभियोगको पक्षमा मतदान गरेका थिए ।

योसँगै ब्राजिलमा रुसेफको वर्कर्स पार्टीको वामपन्थी सरकारको १३ वर्षे शासनकाल अन्त्य भएको छ । रुसेफले देशको बजेट हिनामिना  गरेको आरोप लागेको थियो । तर उहाँले भने त्यो आरोप अस्वीकार गरिरहनुभएको थियो ।

रुसेफको कार्यकाल आगामी सन् २०१९ को जनवरी १ मा सकिँदै थियो । अब बाँकी कार्यकाल कार्यकारी राष्ट्रपति मिसेल टेमरले पूरा गर्नुहुने भएको छ । नरम–दक्षिणपन्थी पीएमडीबी पार्टीका नेता मिसेल टेमरले चाँडै नै राष्ट्रपति पदको सपथ लिने बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?