अष्ट्रेलियाको राजनीतिमा दोश्रो पुस्ताका नेपालीलाई प्रोत्साहित गर्ने न्याभको प्रयास
अष्ट्रेलियाको राजनीतिका बारेमा नेपाली दोश्रो पुस्तालाई चासो जगाउन नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले कार्यक्रम सञ्चालन गर्ने भएको छ । भिक्टोरिया मल्टिकल्चरल कमिशनसँगको सहकार्यमा न्याभले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । यहीँ जन्मिएका वा सानो उमेरमा यता आएर शिक्षादिक्षा यहीँ लिइरहेकामध्ये १४ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुको लागि यहाँको राजनीति,, राजनीतिमा प्रवेश, राजनीतिक दल र तिनको सञ्चालन विधि, संसदीय अभ्यास लगायतका विषयमा जानकारी दिने उद्देश्य यस परियोजनामा राखिएको छ । न्याभका अध्यक्ष डा. अनुपम पोखरेलका अनुसार यसका लागि भिक्टोरियाको मल्टिकल्चरल कमिशनले २ वर्षका लागि अनुदान पनि दिने निर्णय गरिसकेको छ । हामीले अष्ट्रेलियाको नेपाली समूदायको यहाँको राजनीति प्रवेशको दरिलो जग निर्माणको आधार बन्नसक्ने यसलाई ठानेका छौं । डा. अनुपम पोखरेलले एमएनटीभीसँग भने । डा. पोखरेलले थप प्रष्ट पाद्रै भने, “अष्ट्रेलियाको मूलधारको राजनीतिमा कसरी प्रवेश गर्ने भन्ने विषयमा बल्ल पुग्दैछौं । तर, यहाँको राजनीतिक प्रणालीको विषयमा भने खासै जानकारी राख्दैनौं । तर, अब हुर्कदै गरेको नयाँ पुस्ताले चासो बढाउने हो भने उनीहरु भोलिका दिनमा यहाँको काउन्सिलर, मेम्बर अफ पार्लियामेन्ट पनि बन्न सक्छन् । यसैकारण युवापुस्तालाई हामी राजनीतिको चेतना दिने कोसिसमा छौं ।”
यसरी न्याभले सञ्चालन गर्ने तालिममा सहभागी किशोर किशोरीहरुले अष्ट्रेलिया बसाई सरेर आएपनि यहाँको राजनीतिमा सफल बनेकाहरुसहित युवा राजनीतिज्ञहरुबाट यहाँको प्रणाली, राजनीतिमा प्रवेशका लागि अपनाउनुपर्ने उपाय, सफलताका सूत्र आदिका बारेमा ज्ञान पाउनेछन् । “केही राजनीतिज्ञहरुले किशोर किशोरीहरुलाई लेक्चर दिने र गाईड गर्ने कार्यमा सहयोग गर्ने बताइसक्नुभएको छ । यति मात्र होइन तिनै किशोर किशोरीहरुलाई हामी पार्लियामेन्ट, विभिन्न राजनीतिक दलका कार्यक्रमहरुमा समेत लग्नेछौं । यस्तो जानकारीमूलक तालिम दिँदा त्यसमा हामीजस्तै ‘कन्चरल्ली एण्ड लिंग्युष्टिकल्ली डाईभर्स’ समूदायका किशोर किशोरीहरुलाई पनि राख्ने हाम्रो योजना छ । यसरी आफ्ना सन्तानले यहाँको राजनीतिका बारेमा जानकारी लिइरहँदा तिनका अभिभावकहरुमा अप्रत्यक्ष रुपमै भएपनि यहाँको राजनीतिक प्रणाली लगायतका विषयमा चेतना बढ्ने नै छ । यसले दोश्रो पुस्तालाई मात्र होइन हाम्रै पुस्तालाई पनि सहयोग पुग्छ भन्ने ठम्याई हो ।” डा. पोखरेलको भनाई छ ।
कार्यक्रम कहिलेबाट सुरु हुन्छ त ? डा. पोखरेलको उत्तर थियो, “भर्खरै न्याभलाई सरकारी अनुदान पास भएको छ । हामी आगामी १८ सेप्टेम्बरमा बाल दिवस गर्दैछौं । यो कार्यक्रमको पूर्ण योजनासहित औपचारिक घोषणा पनि त्यसकै सेरोफेरोमा गर्ने हाम्रो तयारी छ ।” अष्ट्रेलियामा नेपालीहरुको आगमनको ईतिहास लामो नभए पनि व्यवसाय, सेवा आदिका क्षेत्रबाट उनीहरुले निकै प्रतिष्ठा आर्जन गरेका छन् । राजनीतिमा भने भर्खरै मात्र अष्ट्रेलियाको भिक्टोरिया राज्यमा दुई नेपाली उम्मेद्वार डा. महेश भण्डारी र पर्शुराम लुईटेलले काउन्सिलको चुनावमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । लुईटेल नेपालीभाषी भुटानी समूदायबाट प्रतिनिधित्व गर्नुहुन्छ । अष्ट्रेलियाभरि ७० हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ ।