मेलबर्नमा तीजका व्रतालुहरुलाई निशुल्क यातायातको सेवा
नेपाली नारीहरुको पर्व तीजको अवसरमा व्रतालु महिलाहरुको लागि सेवा गर्ने क्रमको विस्तार भएको छ । यसै क्रममा विगत केही वर्षदेखि सिड्नीमा प्रदान गरिँदै आएको मन्दिरसम्म जाने निःशुल्क बस सेवा भिक्टोरियामा पहिलो पटक प्रदान गर्ने निर्णय भएको छ । यस कामको सुरुवात प्रवासी नेपाली मञ्च भिक्टोरियाले गरेको हो । भिक्टोरियाको क्रमडाउनमा रहेको शिवविष्णु मन्दिरमा आज तीजको अवसरमा जाने व्रतालुहरुको लागि निशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ । तीजको बेलामा महिलाहरु गरगहनासहित सार्वजनिक यातायातमा हिंड्नु त्यति सहज नहुने भएका कारण पनि यस किसिमको सेवादिने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । तीजको व्रत बस्ने र महादेवको दर्शनका लागि मेलबर्नका चेलीहरु क्रमडाउनमा रहेको शिवविष्णु मन्दिरमा जाने गरेका छन् । यो सेवा बिहान ९ बजे देखि बेलुका ६ बजेसम्म डेन्डीनङ ट्रेन स्टेसनबाट शिवबिष्णु मन्दिर क्रमडाउनसम्म सञ्चालन गरिनेछ । यतिमात्र होइन यातयातको साधनमा निःशुल्क फलपफुल र पानीको समेत व्यवस्था गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए । “यसका लागि हामीले स्वयंसेवकहरुको व्यवस्था गरेका छौं”, उनले भने । यसअघि सिड्नीको मिन्टो मन्दिरसम्म जानका लागि स्टेशनबाट प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्ससहित झापाली समाज र एनआरएन न्यूसाउथवेल्सले सेवा दिने निर्णय सार्वजनिक गरिसकेको छ ।