अष्ट्रेलियाली सरकारलाई चुनावी बाचा सम्झाउँदै लिबरल फ्रेण्डस अफ नेपाल
लिबरल फ्रेण्डस अफ नेपालको एक टोलीले अध्यागमन उपमन्त्री एलेक्स हकीसँग भेट गरेको छ । गएको निर्वाचनका बेला अभिभावकहरुलाई ५ वर्षको भिसा दिने र नेपालीहरुका निम्ति नेपालमा नै भिसा शाखाको सुरुवात गर्ने विषयमा ध्यानाकर्षण गराएको टोलीले यस पटक त्यही विषयलाई पुनः उठाएको हो । लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितको नेतृत्वमा गएको टोलीले नेपालबाट भिसा दिने व्यवस्था नहुँदा नेपालीहरुलाई अप्ठेरो परेको गुनासो गरेका थिए । सिड्नीस्थित मन्त्री कार्यालयमा भएको छलफलमा सहभागी टोलीमा नापितसहित लिबरल फ्रेण्डस अफ नेपालका विवेक थापा, निरज श्रेष्ठ, विजय फुँयाल, तारा लामा, लक्ष्मण श्रेष्ठ र प्रमेज श्रेष्ठ सहभागी थिए । जवाफमा मन्त्री हकीले २० वर्ष अघि के कारणले नेपालबाट भिसा दिँदै आएको व्यवस्थालाई परिवर्तन गरिएको थियो यस विषयमा बुझेर यसमा गर्न सकिने सकारात्मक परिवर्तनका लागि सदैव तयार रहेको प्रतिक्रिया दिएका थिए । हरेक वर्ष ७ हजार नेपालीले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि निवेदन दिने गरेका छन् । यसैगरी ९ हजार नेपाली भिजिटर भिसामा अष्ट्रेलिया आउने गरेको तथ्यांक पनि टोलीले राखेको थियो । अष्ट्रेलियाको सरकारको नेतृत्व गरिरहेको लिबरल पार्टीको नेपाली शाखा लिबरल फ्रेण्डस अफ नेपाल हो । यसले नेपाली समूदायका निम्ति विभिन्न विषयवस्तुमा लविंग गर्दै आएको छ । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष नापितले भन्नुभयो, “हामीले नेपालमै भिसा शाखा नहुँदा आइपरेका समस्याका साथै अभिभावकहरुलाई सहज रुपमा ५ वर्षको भिसा दिँदा पर्ने प्रभावका विषयमा पनि आफ्नो कुरा राख्यौं र सकारात्मक जवाफ पाएका छौं ।” उक्त अवसरमा टोलीले शान्तिका प्रतिक भगवान गौतम बुद्धको मूर्ति मन्त्री हकीलाई हस्तान्तरण गरेका थिए ।