अष्ट्रेलियाको भूमिमा दशैंको स्वागत, सिड्नी र मेलबर्नको आकाशमा चंगा चैट
मुख्यतः काठमाडौं उपत्यकामा दशैंको पूर्वसन्ध्यामा आकाशमा चंगाहरु देखिन्छन् । काठमाडौं उपत्यका र अहिले त अन्य शहरी क्षेत्रहरुमा पनि आकाशमा चंगा देखेपछि दशैं आगमनको संकेत मिल्दछ । अष्ट्रेलियाको आकाशमा पनि अब यही दृश्य देखिने भएको छ । गुथी अष्ट्रेलियाले सिड्नीमा र सोलाङचरले मेलबर्नमा काईट फेष्टिभल २०१६ आयोजना गर्न लागेको हो । अक्टोबर १ तारिखका दिन शनिबार विहान ११ बजेदेखि सिड्नीको रकडेलस्थित बाईसेन्टियल पार्कमा आयोजना गरिने चंगा महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । सहभागीहरुबीच विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिताहरु गर्ने र खानाका स्टलहरु समेत रहने आयोजक संस्थाले जानकारी दिएको छ । यसका साथै सिड्नीका गायक गायिकाहरुको सांगीतिक प्रस्तुतिले पनि कार्यक्रमलाई अझ आकर्षक बनाउनेछ । गुथी अष्ट्रेलियाले सिड्नीमा यस किसिमको चंगा महोत्सव आयोजना गरेको तेश्रो वर्ष हो । यसैगरी मेलबर्नमा आगामी १६ अक्टोबरका दिन मेलबर्नको अल नेसन्स पार्क नर्थकोटमा पनि चंगा महोत्सव हुने भएको छ । नेपाल काईट फेष्टिभल २०१६ मेलबर्न नामाकरण गरिएको यो कार्यक्रमका लागि नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले पनि सहकार्य गरेको छ । कार्यक्रममा दशैं टीका, पूजा, खानाका स्टलहरु, सांस्कृतिक प्रस्तुति, डीजे संगीत र बालबालिकाहरुको लागि विभिन्न खेल पनि सञ्चालन गरिने तयारी भएको छ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम चल्ने बताइएको छ ।