सिरियाको द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत
सिरियामा जारी द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रुस सहमत भएका छन् ।
सोमबार साँझदेखि सिरियामा विद्रोही विरुद्ध एकीकृत कारवाही अभियान चलाउन दुई देश सहमत भएका छन् । योसँगै दुई देशबीच उत्पन्न भएको शत्रुता अन्त्य गर्नसमेत दुई देश सहमत भएका हुन् ।
सिरियामा विद्रोहीविरुद्ध एकीकृत कारबाही अभियानपूर्व सिरिया सरकारलाई विपक्षीको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरिने भएको छ । त्यसका लागि अमेरिकाले संयुक्त केन्द्र स्थापना गर्ने र त्यही केन्द्रमार्फत इस्लामिक स्टेट आइएस तथा अल–नुस्रा विरुद्ध संयुक्त कारबाही अभियान चलाइने अमेरिकी विदेश मन्त्री जोन केरीले बताउनुभएको छ ।
जेनेभामा अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच भएको छलफलपछि दुई देशले सिरिया मुद्दामा एक भएर लाग्ने घोषणा गरेका हुन् ।
तर यसका लागि सिरिया सरकार र विपक्षी दुवैले सहयोग गर्नुपर्ने अमेरिकी विदेश मन्त्री केरीले बताउनुभयो । रुसका विदेश मन्त्री लाभरोभले सहमतिका बारेमा सिरिया सरकारलाई जानकारी गराएको र उसले गम्भीरता देखाएको बताउनुभएको छ । सिरियाली विपक्षीलाई अमेरिकाले सैन्यसहितको सहयोग गर्दै आएको छ भने रुसले राष्ट्रपति बसर अल असद पक्षलाई सहयोग गर्दै आएको छ । जसका कारण अमेरिका र रुसबीच तनाव बढेको थियो ।