नेपालले अन्तर्राष्ट्रिय पदक जित्न सक्छ : मन्त्री श्रीपाइली


khelkud_mantriयुवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले विधि र अनुशासनका आधारमा अगाडि बढ्ने हो भने नेपालको खेलले अन्तर्राष्ट्रिय पदक जित्नसक्ने बताउनुभएको छ ।

नेपाल कराते महासङ्घको आयोजना तथा सितोरियो कराते सङ्घ कास्कीको व्यवस्थापनमा भएको पाँचौँ राष्ट्रिय रेफ्री सेमिनार तथा रिफ्रेसमेन्ट कार्यक्रम आइतबार पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले खेलकुदमा राजनीति गर्न नहुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको ढुकुटी रित्याएर खेलाडीभन्दा व्यवस्थापकीय टिमको बढी सहभागिता देखिएमा मन्त्रालयले स्वीकृति नदिने बताउँदै उहाँले त्यसका लागि खेलाडी उच्च मनोबलसहित सङ्गठित भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपालमा हुने तेह्रौँ सार्कस्तरीय खेलकुदमा सफलता प्राप्त गर्नका लागि आधारशीला तयार गर्ने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औद्योगिक नगरी विराटनगरमा तोकिएकै समयमा हुनेगरी तयारी भइरहेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

खेलकुदको प्रचुर सम्भावना रहेको पोखरामा पनि सार्कस्तरीय खेलकुदअन्तर्गतका केही प्रतियोगिता सञ्चालन गरिने जानकारी दिँदै मन्त्री श्रीपाइलीले पोखरा रङ्गशालाको भौतिक निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

खेलाडीको वृत्तिविकासका लागि स्पोर्ट्स युनिभर्सिटी र बैंकको आवश्यकता औँल्याउँदै उहाँले सार्कका साथै जापानमा हुने २०औँ ओलम्पिक प्रतियोगितामा पदक प्राप्त गर्नेगरी खेलाडीको दक्षता अभिवृद्धि गरिने जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अनेकतामा नभई एकतामा खेलकुदको विकास हुने बताउँदै उहाँले विगतको शिक्षा लिएर नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता सिद्धार्थ कोइराला, लोकतान्त्रिक खेलकुद सङ्घ कास्कीका अध्यक्ष देवेन्द्र शेरचन, कराते महासङ्घका महासचिव हरिशरण केसी, राजेश अधिकारी, ओमप्रकाश प्रसार्इं लगायतले खेलकुदको महत्वमाथि प्रकाश पार्नुभयो ।

सेमिनारमा नेपाल कराते महासङ्घका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठ, सहायक प्रमुख प्रशिक्षक तुलसीकुमार महार्जन, नेपाल कराते महासङ्घका रेफ्री संयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सरोज भट्ट, राष्ट्रिय प्रशिक्षक कुशल श्रेष्ठ र विजय लामाले प्रशिक्षण दिनुहुने सो कार्यक्रममा मुलुकका २५० जनाको सहभागिता रहेको छ ।

त्यसैबीच, उहाँले आजै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्नुभएको थियो । त्यसअवसरमा क्षेत्रीय एवम् जिल्ला खेलकुद विकास समितिका पदाधिकारीले रङ्गशालाको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?