फरक शैलीमा मोतीको सम्झना, अष्ट्रेलियामा गजल, गायन र नृत्यको बेजोड संगम गजल मुशायरा २०१६ सम्पन्न


कवि मोतिराम भट्टको जन्मजयन्ती फरक स्वरुपमा गत साता नेपालभर र विदेशमा पनि मनाइयो । यही लयमा अष्ट्रेलियामा पनि मोती जयन्तीको अवसर पारेर गजल मुशायरा कार्यक्रमको आयोजना गरिएको छ । तेश्रो श्रृंखलाको गजल मुशायरा कार्यक्रममा गजल वाचन, गजल गायन र गजलमै नृत्य समेत प्रस्तुत गरिएको थियो । final-mushaनेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान र एनआरएन अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको गजल मुशायरा सिड्नीको एशफिल्डस्थित पोलिस क्लबमा भएको हो । यसअघिका श्रृंखलाहरुको साहित्यिक माधुर्यलाई कायम राख्दै गजलकारहरु निरज जोशी, निमेश भण्डारी, देव पाठक, गणेश गौतम, सिर्जना थापा, बुद्धिसागर दबाडी, विजय सुवेदी, सजल नयन, दुर्गा रिमाल, गणेश घिमिरे र पार्वती पहारीले आफ्ना गजल सुनाएका थिए । कार्यक्रमलाई ओजपूर्ण बनाउन गायक तथा संगीतकार आशिष श्रेष्ठले गजल गाएका थिए भने कविता आचार्य, स्वेता पौडेल र सूचना पौडेलले गजलमा नै नृत्य प्रस्तुत गरेका थिए । औपचारिकता, आसन ग्रहण र धन्यवादका लामा लामा भाषणलाई हटाएर शुद्ध साहित्यिक माहोल निर्माण गरिएको कार्यक्रमको सुरुदेखि अन्त्यसम्म नै दर्शकहरुले पूर्ण मनोरञ्जन लिइरहेको बारम्बारगुञ्जने  ताली र बीचबीचको वाह वाहले बुझाउन सक्थ्यो । समूदायका अग्रज पदम शाक्य र साहित्यकार केदार पोखरेलले गजल मुशायरामा यसअघि सहभागिता जनाउनेहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको संयोजन साहित्यकार जितेन्द्र मल्लले गर्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?