भिक्टोरियामा एक नेपाली युवकको रहस्यमय मृत्यु, प्रहरीले भन्यो आत्महत्या
एक नेपाली युवकको भिक्टोरियामा मृत्यु भएको छ । काठमाडौंको कोटेश्वर घर भई सात वर्षदेखि मेलबर्नमा बसोबास गर्दै आएका रमेश श्रेष्ठको मृत्यु भएको हो । विहान ११ बजेतिर व्याटम्यानस्थित घरबाट साथीको गाडी लिएर निस्किएका उनी काम गर्ने ठाउँ ग्रिन्सबरु नजिकै हाईवेमा तिव्रगतिमा रहेको कारमा ठोक्किएका थिए । उनीसँगै बस्ने साथीले दिएको जानकारी अनुसार गाडीलाई नजिकैको पेट्रोल पम्पमा रोकेर उनी पैदलै हाईवेमा निस्किएका थिए । प्रहरीले यस घटनालाई आत्महत्या भनेको छ । तर, रमेशका साथीहरुले भने घटनाको सही अनुसन्धान गर्नुपर्ने बताएका छन् । “फोन समेत नलिई गएका उनी आत्महत्या गर्नका लागि गाडीलाई पेट्रोल पम्पमा रोकेर कसरी त्यस्तो गर्न सक्छन् ? मैले चिनेसम्म उहाँ गिभअप दिने मान्छे होइन ।”, उनले एमएनटीभीसँग भने । उनको शवलाई आफन्तजनको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । “नजिकका नातेदार सिड्नीबाट आउनुहुन्छ अनि यो कुरा अघि बढ्छ होला । प्रहरीले हामीलाई यो आत्महत्या हो भन्ने बाहेक अरु जानकारी दिएको छैन ।” उनले भने । शनिबार दिउँसो २ः३० बजे घटना भएको हो । यस घटनामा भिक्टोरियाका लागि भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय, नेपाली दूतावास क्यानबेरा, न्याभ र एनआरएन भिक्टोरियाले समन्वय गरिरहेको छ । एमएनटीभीसँग कुरा गर्दै श्रेष्ठका नजिकका नातेदार अनन्त केसीले भने, “नेपालमा परिवारलाई खबर गरिसकिएको छ । कनर्स कोर्टले बडी रिलिज गर्ने कुरा गरेको छ । नेपालमा बडी पठाउनका लागि ईन्स्योरेन्सले नै कभर गर्ने भएकोले त्यसको तयारीमा हामी लागेका छौं । आवश्यक परे मामहावाणिज्यदूतको कार्यालय, एनआरएन र न्याभले पनि सहयोग गर्ने बताउनुभएको छ ।” केसीले अगाडि भने, “यहाँ उनको नजिकको अरु नभएकोले आमाले हामीलाई नै यो घटनाको विषयमा प्रहरीसँग सम्पर्कको लागि नम्बर दिनुभएको रहेछ । सात वर्षदेखि अष्ट्रेलियामा बसोबास गरिरहेको हो । मैले केही समय अघि सिड्नी आउँदा भेटेको थिएँ । ऊ पोजेटिभ मान्छे थियो, स्ट्रङ मान्छे थियो । त्यस्तो गर्नुपर्ने केही पनि थिएन ।” प्रहरीले दुर्घटनास्थलमा भएका प्रत्यक्षदर्शीको हवाला दिँदै आत्महत्या भने पनि घटनाको सूक्ष्म अनुसन्धान गर्न आवश्यक रहेको उनका साथीहरुले बताएका छन् ।