अमेरिकाको नर्थ क्यारोलिनाराज्यमा हिंसात्मक प्रदर्शन, आपतकालीन अवस्थाको घोषणा
अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लोटमा हिंसात्मक प्रदर्शन भएपछि आपतकालीन अवस्था घोषणा गरिएको छ ।
नर्थ क्यारोलिना राज्यका गर्भनरले राज्यमा आपतकालीन अवस्था घोषणा गरेका हुन् । प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको ज्यान गएपछि विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनले हिंसात्मक रुप लिएको छ । मंगलबार रातिदेखि सुरु भएको विरोध प्रदर्शनका कारण अहिलेसम्म १६ जना प्रहरी अधिकारी घाइते भएका छन् ।
दुई दिनदेखि भइरहेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सार्लट शहरमा आपतकालीन अवस्था लागु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थिति नियन्त्रणमा लिन राष्ट्रिय सुरक्षागार्ड खटाइएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न अश्रृग्यासको प्रयोग गरेको छ ।
गत मंगलबार प्रहरीको गोली लागेर अश्वेत व्यक्ति ४३ वर्षका किथ लमोन्ट स्कटको मृत्यु भएको थियो । त्यसपछि नर्थ क्यारोलिनामा विरोध प्रदर्शन शुरु भएको हो ।
प्रहरीले स्कटलाई साथमा रहेको ह्याण्डगन बुझाउन आग्रह गरेको नमानेपछि गोली हानेको बताएको छ । तर परिवारका सदस्यले भने किताब पढिरहेका बेला प्रहरीले गोली हानेको बताएका छन् ।