भारत–पाकिस्तान विवाद चर्कियो, दुवै मुलुक युद्धको तयारीमा
भारत र पाकिस्तानबीच पछिल्लो समयमा बढेको द्वन्द्व युद्धको अवस्थामा पुगेको छ । दुवै देशका सरकारले युद्धको तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन् ।
पाकिस्तानले आफ्ना लडाकु विमान उडाएर युद्धपूर्वको अभ्यास र तयारी गरेको एक पाकिस्तानी पत्रकारले ट्वीटरमार्फत जनाएका छन् ।
जियो न्यूजका सम्पादक हामिर मीरका अनुसार इस्लामावादमा बिहीबार राति चार लडाकु विमान उडेका थिए । इस्लामावादको आकाशमा ‘एफ–१६’ विमानले करिब ४÷५ फन्को लगाएको उनले जनाएका छन् ।
आफूले पाकिस्तानी सैन्य अधिकारीसँग लडाकु विमानको उडानबारे जानकारी माग्दा सैन्य अधिकारीहरुले युद्ध अभ्यास गरिएको जानकारी दिएको पनि उनले जनाएका छन् । सैन्य अधिकारीहरुले सर्वसाधारणलाई निर्धक्क भएर बस्न आग्रह गरेको उनको भनाइ छ ।
यसैबीच पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय सेनाले धमाधम हतियार थुपार्न थालेको छ ।
सम्भावित युद्धलाई मध्यनजर गर्दै भारतीय सेनाका तर्फबाट तोप, बोफोर्स गन लगायतका आधुनिक हतियारको तैनाथी बढाइएको हो ।
यद्यपि भारतीय सेनाले हिमपातको मौसम सुरु हुनुअघि नै सीमा क्षेत्रमा हतियार भण्डार गर्ने नियमित कार्यका रुपमा यसलाई व्याख्या गरेको छ । तर गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइनुका साथै सामरिक शक्तिमा समेत बृद्धि गरिएको सैन्य उच्च स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।