अष्ट्रेलियाको पीआर भएकाहरुको अभिभावकलाई पाँच वर्षको भिसा दिने निर्णय
अष्ट्रेलिया सरकारले छोराछोरी भेट्नका लागि अष्ट्रेलिया आउने अभिभावकहरुलाई अधिकतम पाँच वर्षको भिसा दिने निर्णय गरेको छ । अध्यागमन तथा सीमा सुरक्षा उपमन्त्री एलेक्स हकीले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जनाएका हुन् । यो निर्णय कार्यान्वयनमा आउनुअघि समूदायसँगको छलफल अघि बढाइने र यसलाई संसदले पारित गरेपछि लागू हुने पनि बताइएको छ । गत निर्वाचनका बेला आप्रवासीहरुलाई गरिएको वाचा अनुरुप लिबरल पार्टीको सरकारले यस्तो निर्णय लिएको जनाएको छ । लिबरल फ्रेण्डस अफ नेपालका सभापति श्री नापितले एमएनटीभीसँग कुरा गर्दै आफुहरुलाई निर्वाचनताका दिइएको आश्वासन कार्यान्वनयको चरणमा अघि बढ्दा निकै खुशी लागेको प्रतिक्रिया दिए । नापितले भने, हामीले नेपालमा नै अष्ट्रेलियाको भिसा दिने व्यवस्था गर्न पनि माग गरेका छौं । यस विषयमा पनि थप पहल गर्नेछौं । लिबरल फ्रेण्डस अफ नेपालकै निरज श्रेष्ठले यो निर्णय कार्यान्वयन अघि समूदायबाट र अनलाईन मार्फत पनि परामर्श गर्ने निर्णय मन्त्रालयले गरेको छ । यससँगै नेपाली समूदायसँग अभिभावक भिसालाई कसरी लागू गर्ने भन्ने विषयमा छलफल छिट्टै आयोजना गर्ने उनले जानकारी दिए । श्रेष्ठले भने, यो निर्णय निकै सकारात्मक हो । यससँगै हामीले चुनावका बेला उठाएका अन्य मुद्दामा पनि कुरा सुनिनेछ भन्ने आशा जागेको छ । अष्ट्रेलियामा विद्यार्थी भिसामा रहेकाहरुको अभिभावक आउँदा यो निर्णयले कुनै फरक नपारे पनि यसले पीआर लिइसकेकाहरु र अष्ट्रेलियन नागरिकता लिएका व्यक्तिका अभिभावक भने लाभान्वित हुनेछन् ।