एलेप्पोमा भइरहेको संघर्षप्रति राष्ट्र संघका महासचिवबाट दुःख व्यक्त
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले सिरियाको एलेप्पोमा भइरहेको सशस्त्र संघर्षप्रति दुख व्यक्त गर्नुभएको छ ।
सिरियामा बढ्दो सैनिक हस्तक्षेप र यसबाट सर्वसाधारण मारिने क्रम बढेकामा उहाँले दुःख व्यक्त गर्नुभएको हो । लगातार गरिएका हवाई र बम आक्रमणबारे चासो राख्दै महासचिव बानले विश्वभरको प्रतित्रद्धता हुँदाहुँदै पनि मानवीय सुरक्षा गर्न विफल हुनु सबैका लागि अन्धकारयुक्त दिन भएको बताउनुभएको छ ।
सिरियन सरकारले विद्रोही नियन्त्रित एलेप्पोमा लगातार हवाई आक्रमण गर्दा त्यहाँको सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।
संघर्षकै कारण त्यहाँका २० लाख मानिसले पानीसम्म पिउन नपाएको राष्ट्रसंघले जनाएको छ । पश्चिम एलेप्पो कब्जा गर्न आक्रामक रणनीति लिइएको भन्दै सिरियन सेनाले त्यहाँ लगातार आक्रमण गरिरहेको छ ।
सिरियन सरकारी फौजलाई रुसले सघाएको छ भने विपक्षीलाई अमेरिकाले सघाएको छ ।