एन्फाको अध्यक्षका लागि श्रेष्ठ र शेर्पा भिड्ने


anfaअखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी कात्तिक ८ गते हुने निर्वाचनका लागि अध्यक्षमा दुई जना भिड्ने भएका छन् । त्यसैगरी उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।

आइतबार साँझ ५ बजे उम्मेदवारी दर्ता गराउने समय सकिँदा अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र हालका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको हो ।

श्रेष्ठले ८ प्रस्तावक र ८ समर्थक तथा अन्तिम दिन उम्मेदवारी दर्ता गराएका शेर्पाले १४ प्रस्तावक र १२ समर्थकसहित उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षका लागि मणि कुँवर, उपेन्द्रमान सिंह र दीपक खातीको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरु उपर दाबी विरोध गर्ने समय मंगलबार दिउँसो २ बजेसम्म रहेको छ । त्यस्तै उम्मेदवारी फिर्ता गर्न चाहनेले कात्तिक ५ गतेसम्म नाम फिर्ता लिन सक्नेछन् ।

एन्फा निर्वाचनमा ४५ जिल्ला, १२ ए डिभिजन क्लव, पाँच बी डिभिजन क्लब, तीन सी डिभिजन क्लव तथा खेलाडी, प्रशिक्षक र रेफ्रीबाट एक–एकसहित ६९ मतदाताले मत खसाल्ने अधिकार पाउँछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?