सिरियाको विषयलाई लिएर अमेरिका र रुसबीच आरोप प्रत्यारोप
अमेरिकाले सिरियामा रुसले गरिरहेको कार्वाहीलाई बर्बरताको संज्ञा दिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्वाहीबारे रुसले गलत सूचना दिएको आरोप पनि लगाएको छ ।
राष्ट्र संघका लागि अमेरिकी राजदूत सैमन्था पावरले सिरियामा रुसी कार्वाही आतंकवादविरुद्धको लडाई नभई आम जनताविरुद्धको बर्बरता मात्र भएको दलील पेश गर्नुभयो ।
विपक्षीहरुको आश्रयस्थल एलेप्पोमा रुस र सिरियाई सेनाले स्थल र हवाई दुबै तर्फबाट आक्रमण गरेको भन्दै उहाँले हालैको दिनमा मात्र १५० भन्दा बढी हवाई आक्रमण गरिएको जानकारी दिनुभयो ।
रुसी राजदूत विटाली चुरकिनले भने सिरियामा शान्ति कायम गर्नु लगभग असम्भव भएको भन्दै हतियारबन्द विद्रोहीले नै संघर्षविराम तोडेको आरोप लगाउनुभयो ।
सिरियाका प्रतिनिधिले भने सरकारी सेनाले एलेप्पोमा पूरै कब्जा जमाउन लागेको जनाएका छन् । यसअद्धि राष्ट्रसंघका महासचिवले सिरियामा बंकर बम प्रयोग भइरहेकोमा यसलाई गलत भन्नुभएको थियो । सिरियाका लागि राष्ट्रसंघीय विशेष दूत स्टेफान डी मिस्तूराले पनि एलेप्पोमा आतंक नयाँ उचाईमा पुगेको जानकारी दिनुभएको थियो । एलेप्पोमा पछिल्लो आक्रमणमा मात्र ४५ जनाभन्दा बढी मारिइसकेका छन् ।