अमेरिकी राष्ट्रपतिका दुई प्रतिस्पर्धी ट्रम्प र क्लिन्टनबीच तीखो बहस


trump_clintonआगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावका दुई प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच तीखो बहस भएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको बहस लाखौंले हेरेका छन् । दुई प्रतिस्पर्धीबीच भएको ‘राष्ट्रपतीय बहस’मा आर्थिक कर नीतिसम्बन्धी विषय निकै रोचक थियो । चुनावी प्रक्रियाको प्रथम बहसका रुपमा लिइने यो बहसमा यी दुई नेता एक अर्कामा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनसँग बेरोजगारलाई रोजगारी दिने कुनै योजना नभएको आरोप लगाउनुभयो । उहाँले ९ लाख सर्वसाधारणले रोजगारी गुमाएको अवस्थामा रोजगारीसम्बन्धी कुनै योजना नभएको बताउनुभयो ।

यता क्लिन्टनले भने ट्रम्पले अमेरिकामा देखिएको हाउसिङ संकटलाई पनि आफ्नो फाइदाका लागि उपयोग गरेको आरोप लगाउनुभएको छ । अमेरिकामा नौ लाख जनता बेराजगार भएका छन् भने ५० लाख घरबारबिहीन छन् । क्लिन्टनले आफ्नो इमेल डिलिट गरेकोप्रति ट्रम्पले जवाफ माग गर्दा भने क्लिन्टनले गल्ती स्वीकार्दै अव आइन्दा यस्तो नहुने बचन दिनुभएको छ ।

अमेरिकामा हरेक ब्यक्तिले हतियार राख्न पाउने अधिकार खारेज गर्नुपर्ने धारणा क्लिन्टनले ब्यक्त गरेकै बेला ट्रम्पले भने आफ्नो सुरक्षाका लागी हतियार राख्नु पाउनु पर्ने जिकीर गर्नुभएको छ ।

यसैबीच ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकबाट अमेरिकी सेना फिर्ता बोलाएर आर्ईएसलाई जन्म दिएको आरोप लगाएकै बेला क्लिन्टनले भने आईएस बिरुद्ध अमेरिका सधैं लडिरहने र परास्त गरी छोड्ने बताउनुभयो ।

सन् १९६० को सेप्टेम्बर २६ मा अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जोन अफ केनेडी र हेनरी किसिंजरबीच पहिलो पटक बहस भएको थियो । त्यसयता हरेक पटकको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारबीच बहस गराईंदै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?