इपिएल क्रिकेटमा कलर्सको पहिलो जित
एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा कलर्स एक्स फ्याक्टर्सले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तान रहेको कलर्सले सगरमाथा लेजेन्ट्सलाई नौ रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको कलर्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १६८ रनको योगफल तयार ग¥यो । एक सय ६९ रनको विजय लक्ष्य पछ्याएको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य विनोद भण्डारीको टोली सगरमाथाले भने पूरै ओभर खेले पनि लक्ष्य भेट्टाउन सकेन । छ विकेट मात्र गुमाउनका बाबजुद सगरमाथाले १५९ रन मात्र बनाउन सक्यो र हार साँघुरो हार व्यहो-यो ।
कलर्सको जितमा राजेश पुलामी मगर र कप्तान ज्ञानेन्द्रले अर्धशतकीय पारी खेले । सो क्रममा राजेशले ५६ र ज्ञानेन्द्रले ५२ रन बनाए । त्यस्तै कलर्सका फैजल खानले २१ रन तथा अविनाश कर्णले दुई विकेट लिए ।
यता सगरमाथाका कप्तान विनोदले ४८ तथा सुनिल धमलाले ४६ रन तथा मेहबुब आलम र विक्रम सोबले समान दुई विकेट लिए पनि टोलीको जितका लागि पर्याप्त भएन । दुई खेलमा समान जित र हार व्यहोरेको कलर्स छ टोली सम्मिलित अङ्कतालिकाको पाँचौँ स्थानमा छ भने तीन खेलमा पनि कुनै जित निकाल्न नसकेको सगरमाथा पुछारमा छ ।
मंगलबार भएको पहिलो खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई ११ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बुधबार पञ्चकन्या तेजविरुद्ध कान्तिपुर गोर्खाज तथा विशाल वारियर्सविरुद्ध जगदम्बा राइनोजबीच भिडन्त हुनेछ । रासस