सिरियाको एलेप्पोमा रुसले आक्रमण नरोके सिरियासँगको वार्ता तोड्ने अमेरिकी चेतावनी
अमेरिकाले सिरियाको एलेप्पो शहरमा रुसले आक्रमण नरोके सिरियासँगको वार्ता तोड्ने चेतावनी दिएको छ ।
अमेरिकी विदेशमन्त्री जोन केरीले रुसी समकक्ष सर्गेई लाभरोवलाई फोन गरेर एलेप्पोमा रुसले आक्रमण गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले आक्रमण नरोके सिरियासँगको वार्ता तोड्ने चेतावनी दिनुभएको छ । योसँगै अमेरिकी विदेश मन्त्रालयले वार्ता स्थगित गर्ने तयारी गरेको बताइएको छ ।
एक हप्ताअघि युद्धविराम भंग भएपछि रुसले एलेप्पो शहरमा भीषण हवाई आक्रमण गरिरहेको छ ।
विद्रोही समूहको कब्जामा रहेको पूर्वी हिस्सामा झन्डै साढे २ लाख मानिस फसेका छन् । रुस समर्थित सिरियाली सेनाको घेराबन्दीका कारण उनीहरु फसेका हुन् ।
एलेप्पोमा पछिल्लो पाँच वर्षदेखि जारी संघर्षमा अहिलेको आक्रमण नै सबैभन्दा ठूलो भएको बताइएको छ ।
अमेरिकाले यो आक्रमण रुसले गरेको आरोप लगाउँदै आएको छ । गत शुक्रबार एलेप्पोमा भएको आक्रमणमा ९६ जना बालबालिकाको मृत्यु हुनुका साथै २ सय २३ जना घाइते भएको युनिसेफलले जनाएको छ । तर रुसले भने घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।