अमेरिकाले सिरियाका आतंकवादी समूहलाई सघाइरहेको रुसको आरोप
रुसले सिरियामा अमेरिकाले आतंकवादी समूहलाई सघाइरहेको आरोप लगाएको छ ।
रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सिरियाली राष्ट्रपति बसर अल असदलाई अपदस्थ गर्न अमेरिकाले त्यहाँ एक जेहादी समूहलाई बचाइरहेको आरोप लगाउनुभएको हो ।
अमेरिकाले सिरियामा निकै बलियो मानिएको विद्रोही गूट जबह फतह अल शाम र अरु कट्टरपन्थी गूटलाई अलग गर्ने आफ्ना बाचा पूरा नगरेको रुसको आरोप छ ।
फतह अल शाम अल कायदासँग जोडिएको समूह भएको रुसी दावी छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले भने रुसी अरोपलाई बेतूकको संज्ञा दिएको छ ।
बरु रुसको बम आक्रमणका कारण उदार विद्रोहीहरु कट्टरपन्थी गूटतर्फ जान बाध्य भएको जिकीर अमेरिकाले गरेको छ ।
सिरियामा हवाई आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा रुसी विदेशमन्त्री लाभरोभले बीबीसीलाई दिएको अन्तर्वार्तामा रुस अमेरिकाबीच भएको सम्झौता पालना नभएको पनि बताउनुभयो ।