दशैं, तिहार र छठको अवसरमा जनसम्पर्क समिति भिक्टोरियाको चियापान सम्पन्न
नेपाली काँग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति अष्ट्रेलिया अन्तर्गत भिक्टोरिया राज्य समितिले यस वर्षबाट नयाँ कार्यको सुरुवात गरेको छ । अष्ट्रेलियामा प्रमुख राजनीतिक दलका प्रवासी मञ्चहरुसहित स्थानीय नेतृत्ववर्गलाई समेत आमन्त्रण गरेर दशैं, तिहार र छठको अवसरमा स्वदेशमा गरिने चियापानको झल्को अष्ट्रेलियाको मेलबर्नमा दिइएको छ । मेलबर्नको कोबर्ग पार्कमा शनिबार आयोजना गरिएको चियापानमा सहभागी हुन सिड्नी र ब्रिसबेनदेखि जनसम्पर्क समितिका नेता कार्यकर्ता आएका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्वसचेतक लक्ष्मणप्रसाद घिमिरे हुनुहुन्थ्यो भने विशिष्ठ अतिथि काँग्रेस पर्वतका नेता नवराज गुरुंग र एमालेका केन्द्रीय सल्लाहकार देवी ज्ञवाली हुनुहुन्थ्यो । यसैगरी भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अष्ट्रेलियाका उपाध्यक्षद्वय दिनेश पोखरेल र केशव कँडेल, जनसम्पर्क समिति भिक्टोरियाका अध्यक्ष सुरेश पोखरेल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्की, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष अनुपम पोखरेल, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने, जनसम्पर्क समितिका दुर्गा आचार्यले भिक्टोरियामा नयाँ कार्यको सुरुवात गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँहरुले भिक्टोरियामा बस्ने सबैमा विजया दशमी, दिपावली र छठको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा भिक्टोरियाको नेपाली समूदायबाट व्यापारी, विभिन्न प्रवासी संघ संगठनका प्रतिनिधि, विद्यार्थी, पत्रकार, सामाजिक जीवनमा अगुवाहरु सहभागी भएका थिए । “नेपालमा नेपाली काँग्रेसले विजया दशमी कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष चियापान कार्यक्रमको आयोजना गर्दछ, त्यसैलाई निरन्तरता दिँदै मेलबर्नमा बसोबास गर्ने नेपालीहरुमाझ शुभकामना आदान प्रदानका लागि हामीले यो क्रम सुरुवात गरेका हौं ।” कार्यक्रमका संयोजक देवेन्द्र बस्नेतले एमएनटीभीलाई बताउनुभयो । बस्नेतले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभएको छ ।