मोदीविरुद्ध धम्कीपत्र बोकेर आएको परेवा प्रहरीको नियन्त्रणमा
पाकिस्तानी आतंकवादी संस्था लस्कर–ए–तोईवाले भारतविरुद्ध धम्की दिएको पत्र बोकेको परेवालाई भारतले नियन्त्रणमा लिएको छ । भारतको सिमा सुरक्षा बलले उक्त परेवालाई पाकिस्तानसँगको सिमा नजिकै पंजावको पाठनकोटबाट सोमबार नियन्त्रणमा लिएको हो ।
‘हामीले उक्त परेवालाई सोमबार साँझ नियन्त्रणमा लिएका हौं,’ पठानकोटका प्रहरी इन्स्पेक्टर राकेश कुमारले भने । कुमारका अनुसार परेवाले बोकेको उक्त पत्र उर्दु भाषामा लेखिएको थियो – मोदी, हामी सन् १९७१ का मानिस होइनौं, अहिले बच्चा–बच्चा भारतविरुद्ध लडाइँ गर्न तयार छन् ।
सन् १९७१ मा भारत र पाकिस्तानबीच पूर्ण युद्ध भएको थियो । पत्रमा पाकिस्तानको आतंकवादी संस्था लस्कर–ए–तोईवाले हस्ताक्षर गरेको बताइएको छ। ‘त्यसैकारण हामीले यसलाई गम्भीरतापूर्वक छानिविन गर्दैछौं,’ कुमारले भने ।
केही समयअघि पनि पंजावमा दुई वटा बेलुन भेटिएको थियो जसमा पनि भारतविरुद्ध धम्कीपूर्ण भाषा लेखिएको थियो ।
गत वर्ष पनि पाकिस्तानले आफू विरुद्ध जासुसी प्रयोजनका लागि परेवा प्रयोग गरेको भन्दै भारतीय प्रहरीले एउटा परेवा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
सन २०१३ मा भारतीय सुरक्षा फौजले जासुसी क्यामरा जडान गरेको एक मृत बाज फेला पारेको थियो । त्यस्तै सन् २०१० मा उसले अर्को परेवालाई नियन्त्रणमा लिएको थियो ।