खेलकुदमा सुदूरपश्चिमको योगदान उच्च : मन्त्री श्रीपाइली
युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले देशको खेलकुद जगत्मा सुदूरपश्चिमको योगदान उच्च रहेको बताउनुभएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले जुनसुकै विधामा भए पनि सुदूरपश्चिमको योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।
सुदूरपश्चिमलाई खेलाडी उत्पादनको थलोको भएको बताउँदै उहाँले यहाँको खेलकुदको विकास लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफूले राष्ट्रलाई सुदूरले खेलकुदका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गरेको बताउँदै उहाँले खेलकुदको विकासका लागि एकता आवश्यक रहेको धारणा राख्नुभयो । खेल र खेलाडीको विकासका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा क्रिकेटरद्वय विनोद भण्डारी र ललित भण्डारीलाई मन्त्रीले दोसल्ला ओढाएर सम्मन समेत गर्नुभएको छ ।
त्यसैगरी यहाँको खेलकुद क्षेत्रको विकासका लागि कृष्णपुर नगर खेलकुद विकास समितिले मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
स्थानीय रोयल युथ क्लबले दसैँ तिहारको अवसरमा आयोजना गरेको क्रिकेट प्रतियोगितामा १६ वटा टिम रहेको आयोजकले जनाएको छ । रासस