विवादमा परेका अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प एक्लिँदै, पार्टीका वरिष्ठ नेताहरुले छाडे साथ
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ११ वर्ष अघि महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएकोमा माफी मागे पनि एकपछि अर्को गर्दै आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थाल्नुभएको छ ।
गत निर्वाचनमा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार जोन मेक्कन र पूर्व विदेश मन्त्री कन्डोलिजा राइसले ट्रम्पले अति गरेको भन्दै समर्थन गर्न नसक्ने प्रष्ट गर्नुभएको हो ।
शुरुमा शर्तसहितको समर्थन दिएका मेक्कनले अब समर्थन कायम राख्न नसक्ने प्रष्ट गर्नुभएको छ । राइसले ट्रम्प कुनै हालतमा राष्ट्रपति बन्नु हुँदैन र उम्मेदवारी त्याग्नुपर्छ भन्नुभएको छ ।
न्यूह्याम्सपाएरका सीनेटर केली अयोट्टेले महिलाविरुद्ध तथानाम बोल्नेलाई समर्थन गर्न नसक्ने भन्दै हिलारी क्लिन्टनलाई पनि आफूले भोट नदिने बताउनुभयो । यता ट्रम्पले भने आफूलाई चुनावी मैदानबाट धकेल्न सञ्चारमाध्यम र पार्टीकै केहीले लगातार आक्रमण गरिरहेको आरोप लगाउँदै कुनै हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिनुभएको छ ।
केही दिनअघि सार्वजनिक सन् २००५ को एक भिडियोमा ट्रम्पले आफु प्रसिद्ध मानिस भएपछि महिलासँग जे गर्न पनि सकिनेबारे कुरा गर्नु भएको थियो ।