यमनको राजधानी सनामा साउदी अरब गठबन्धन सेनाले गरेको कारबाहीमा १ सय ४० जनाको मृत्यु
यमनको राजधानी सनाको जनाजे क्षेत्रमा साउदी अरबको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १ सय ४० जनाको मृत्यु भएको छ ।
आक्रमणमा सयौं घाइते भएका छन् । मारिनेमा सर्वसाधारणको संख्या अधिक छ भने केही हुथी विद्रोहीका सैन्य अधिकारी पनि छन् । आक्रमणका कारण सयौं घर ध्वस्त भएका छन् ।
हुथी विद्रोहीका प्रवक्ताले आक्रमणलाई नरसंहारको संज्ञा दिएका छन् । यता साउदी अरब गठबन्धनले अमेरिकी विज्ञसंग मिलेर आक्रमणको अनुसन्धान गर्ने जनाएको छ । यसअघि साउदी अरबले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
हुथी विद्रोहीले नियुक्त गरेको आन्तरिक मन्त्रीलाई लक्षित गरि आक्रमण गरिएको बताइएको छ । अमेरिकाले आक्रमणको विरोध गर्दै साउदी गठबन्धनलाई आक्रमणका लागि सबै अधिकार नदिइएको जनाएको छ ।
यमनमा आतंक मच्चाएको हुथी विद्रोही समू्हविरुद्धको कारबाहीमा सउदी अरबको गठबन्धन सेनाले हवाई तथा स्थलमार्गबाट आक्रमण जारी राखेका छन् ।
यमनमा सन् २०१४ देखि शुरु भएको युद्धका संघर्षका कारण विद्रोहका कारण हजारौं मारिएका छन् भने ३० लाख भन्दा बढी विस्थापित भएका छन् ।