अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवारबीच घोचाघोच, करोडौंले हेरे प्रत्यक्ष टेलिभिजन बहस


hilary_trumpअमेरिकी राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा गरिने सार्वजनिक टेलिभिजन बहसको दोस्रो चरणमा दुई उम्मेदवार हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना योजना र प्राथमिकताहरु सार्वजनिक गर्नुभएको छ ।

यस क्रममा रिपब्लिकन उम्मेदवार ट्रम्पले महिलाका बारेमा गरेको अश्लील टिप्पणीप्रति सार्वजनिक रुपमा माफी माग्दै महिलाप्रति आफ्नो सधैं सम्मान रहेको स्वीकार्नुभयो । बरु ट्रम्पले यस मामलामा पूर्व राष्ट्रपति एवं हिलरी क्लिन्टनका पति बिल क्लिन्टन खराब रहेको टिप्पणी गर्नुभयो ।

ट्रम्पले इमेल प्रकरणप्रति हिलरीमा लज्जा हुनुपर्ने भन्दै क्लिन्टनको नियत नै खराब भएका आक्षेप लगाउनुभयो ।

हिलारीले भने इमेल प्रकरणप्रति माफी माग्दै लामो अनुसन्धानपछि यसबारे प्रतिवेदन आइसकेकाले यो विषय तन्काउनुको कुनै अर्थ नहुने जिकीर गर्नुभयो । अमेरिकी दुई टेलिभिजन एबीसी र सीएनएनले प्रत्यक्ष प्रसारण गरेको बहस करोडौं मानिसले हेरेका थिए ।

दुई नेतालाई निर्वाचनका क्रममा उठाइएका आप्रवासी मुद्दा, ओबामा हेल्थ केयर, आईएसआईसहितका आतंकवादी समूहले विश्वमा मच्चाएको हिंसा नियन्त्रणलगायतका विषयमा प्रश्नहरु सोधिएको थियो ।

क्लिन्टन डेमोक्रेटिक पार्टी र ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्ने दौडमा हुनुहुन्छ ।

यता, अमेरिकी राष्ट्रपति बराक ओबामाले ट्रम्पको आलोचना गर्दै उनले महिलाको मात्रै नभई समग्र रुपमा अल्पसंख्यक, आप्रबासी र अमेरिकी सेनाको समेत अपमान गरी मनोबल घटाउने काम गरेको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?