कंगोमा बढ्दो हिंसाका कारण मुलुकको स्थिरता नै जोखिममा परेको राष्ट्र संघ सुरक्षा परिषद्को चेतावनी


Opposition UDPS supporters run through a cloud of teargas outside N'Djili airport in Kinshasaसंयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा बढ्दो हिंसाका कारण मुलुकको स्थिरता अत्यन्तै जोखिममा परेको चेतावनी दिएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा अहिले १८ हजार शान्ति सैनिक तैनाथ गरिएका छन् । हिंसा फैलँदै गएपछि राष्ट्रपति निर्वाचनको मिति पनि सारिएको छ ।

विपक्षीले आगामी डिसेम्बरमा पदावधि सकिन लागेका राष्ट्रपति जोसेफ कबिला सत्तामा बसिरहन खोजेको आरोप लगाएका छन् ।

सन् २००१ मा आफ्ना बुबाको हत्यापछि कबिला सत्तामा हुनुुहुन्छ र संविधानअनुसार उहाँ अर्को कार्यकालका लागि चुनाव लड्न पाउनु हुन्न ।

नोभेम्बरमा निर्धारित चुनाव हुन नसक्ने निर्वाचन आयोगको घोषणासँगै गत महिना चर्किएको सरकार विरोधी प्रदर्शनमा धेरै जना मारिएका छन् ।

अस्थिरता बढाएको र विपक्षीलाई दमन गरेको भन्दै अमेरिकाले कंगोली उच्च सुरक्षा अधिकारीहरुलाई प्रतिबन्ध लगाइसकेको छ ।

राजनीतिक संकट समाधान गर्न सरकारले गरेका वार्ताको आह्वानलाई विपक्षले बहिष्कार गरिरहेका छन् ।

मुलुक स्वतन्त्र भएको ५५ वर्ष यता प्रजातान्त्रिक गणतन्त्र कंगोमा सहज सत्ता हस्तान्तरण हुन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?