दशैंमा भाउजुको हत्या गरी सुवासले किन गरे बिष सेवन ?
उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने सुवास कटुवालले दशैंका बेलामा भाउजूको हत्या गरेर विष सेवन गरेका छन् ।
सुवास हाल अस्पतालमा छन् भने प्रहरीले दशैंको टीकाका दिन मृतकका श्रीमानसहित परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएको छ ।
उदयपुरको बसाहा निवासी राजेन्द्र कटुवालकी श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिनअघि मोरङको सिजुवास्थित बेतौना जंगलमा हत्या भएको थियो ।
घटनापछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान राजेन्द्रसहित ६ जना परिवारका सदस्यलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार राजेन्द्रका भाइ सुवास तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका थिए । उनले चार दिनअघि भाउजू भीमकुमारीलाई फोन गरेर सिजुवा बोलाएका थिए ।
देवरलाई भेट्न पुगेकी भाउजूलाई सोही दिन जंगलमा लगेर हत्या गरेको प्रहरीको दाबी छ ।
भाउजूको हत्यापछि विष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको छ ।
भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्नता रहेको आरोप भीमकुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै घरपरिवारलाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
घटनामा अन्यको संलग्नता भए नभएको खुलिसकेको छैन । तर, राजेन्द्रका घरपरिवारको सुरक्षाका साथै थप अनुसन्धानका लागि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताउनुभयो ।
उता विष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजूको हत्या आफू एक्लैले गरेको प्रारिम्भक वयान दिएको प्रहरीको भनाइ छ ।
भीमकुमारीको हत्यामा को को संलग्न छन् भन्ने विषयमा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र चाँडै यसको वास्तविकता खुल्ने इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । रासस