एमाले महासचिव ब्रिसबेनमा, सेफ नेपाल भिजिट नेपाल कार्यक्रममा सहभागी हुने
अष्ट्रेलिया भ्रमणमा रहनुभएका पूर्व उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल ब्रिसबेन पुग्नुभएको छ । महासचिव पोखरेलले ब्रिसबेनमा बिहीबार प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाल फेष्टिभल काठमाडौंको आयोजनामा हुन हुन लागेको सेफ नेपाल भिजिट नेपाल कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागिता जनाउनुहुनेछ । पोखरेलका साथ पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल पनि हुनुहुन्छ । कलाकारहरु जितु नेपाल, बद्री पंगेनी, प्रिती आले र मिलन अमात्यले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च क्वीन्सल्याण्डका संयोजक रमेश पौडेलले जानकारी दिनुभयो । आजै साँझ मञ्चले महासचिव पोखरेलसहित भ्रमण टोलीसँग स्थानीय टिबेटन किचेनमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासचिव पोखरेलसहितको टोलीलाई विमानस्थलमा प्रवासी नेपाली मञ्चका क्वीन्सल्याण्ड ईन्चार्ज चीन नेपाली र उपाध्यक्ष रमेश पौडेल लगायतका टोलीले स्वागत गरेको थियो । संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पोखरेलले आफु नेपालीहरुको न्यानो स्वागतबाट हर्षित बनेको प्रतिक्रिया दिनुभयो । साथै, उहाँले विदेशी भूमिमा नेपाली समूदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने पनि बताउनुभएको छ । यसअघि उहाँसहितको टोलीले क्यानबेरामा राजनीतिक भेटघाट गरेको थियो भने ब्रिसबेनको कार्यक्रम लगत्तै मेलबर्नमा शनिबार आयोजना हुने सोही प्रकृतिको कार्यक्रममा भाग लिन १४ जनाको टोली त्यसतर्फ लाग्नेछ ।