युवा आवाजलाई समेट्न नेपाल रिपोर्टस मासिकको प्रिन्ट संस्करण
अष्ट्रेलियामा प्रिन्ट पत्रकारिताको क्षेत्रमा नेपाल रिपोर्टसले आफ्नो नयाँ अध्याय सुरु गरेको छ । यही महिनाबाट आफ्नो पहिलो अंकका साथ बजारमा आएको नेपाल रिपोर्टसले मुख्यतः युवासँग सम्बन्धित विषयवस्तुलाई केन्द्रमा राख्ने जनाएको छ । केही समय अघि पत्रिकाको पहिलो अंक विमोचन कार्यक्रम समेत आयोजना गरेको नेपाल रिपोर्टसले हरेक अंकमा एक उत्प्रेरक युवालाई फिचर गर्ने यसका सम्पादक विज्ञान कँडेलले एमएनटीभीलाई बताए । लागूऔषधको दुव्र्यसनमा फसेर पनि आफुलाई परिवर्तित गर्दै युथ आईकनका रुपमा आफुलाई स्थापित गर्न सफल विजय सापकोटालाई पहिलो अंकमा कभर स्टोरीअन्तर्गत प्रस्तुत गरिएको छ । सापकोटा पत्रिकाका युवा मामिला सल्लाहकार समेत हुन् । सम्पादक कँडेलले भने, “अष्ट्रेलियामा रहने करिब दुई हजारभन्दा बढी युवाहरु हाम्रो यो अभियानमा जोडिइसक्नुभएको छ । हामीले विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई लक्षित गरेर पत्रिका निःशुल्क पठाउने व्यवस्था पनि गरेका छौं ।” मुख्यतः अष्ट्रेलियामा क्रियाशील विभिन्न संघ संस्थाले विद्यार्थीको समस्या, उनीहरुका सम्भावना र भावनालाई बुझ्न नसकेको ठहर गर्दै यसलाई सम्बोधन गर्न यो प्रयास थालिएको कँडेलको भनाई छ । अनलाईन संस्करणबाट करिब तीन वर्षअघिदेखि क्रियाशील नेपाल रिपोर्टसको प्रिन्ट संस्करणका लागि प्रकाशकका रुपमा एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले प्रवेश गरेका छन् । “अष्ट्रेलियाको पत्रकारितामा कान्छो प्रकाशकका रुपमा मेरो प्रवेश भएको छ । यसलाई व्यवसायिक र मर्यादित पत्रकारिताको नमूनाका रुपमा अघि बढाउने हामीले सोच बनाएका छौं । यसैकारण मेरो संलग्नता भएको हो”, खरेलले भने । बहुभाषिक सामग्रीहरु समेटिने युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलतालाई बढावा दिने खरेलले प्रकाशकीयमा पनि उल्लेख गरेका छन् । नेपाल रिपोर्टसले हरेक महिना अन्तरक्रियात्मक कार्यक्रमकाबीचमा नै नयाँ अंक सार्वजनिक गर्ने पनि बताइएको छ । पत्रिकाको प्रबन्ध निर्देशक अभिषेक जैसवाल रहनेछन् ।